हिमालपारीको जिल्ला मनाङमा नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाई डेन्सिटी एप्पल फार्म’ शुरु गरेको मनाङको एग्रो मनाङ स्याउ फार्मका कामदारहरु यतिवेला स्याउबोटको स्याहार–सुसारमै व्यस्त छन्। नेस्याङ गाउँपालिका–१, भ्राताङमा ७ सय ५० रोपनी क्षेत्रफलमा स्याउखेती गरिएको छ।
फार्ममा इटाली र सर्बियाबाट धेरै फल दिने फुजी, गाला र गोल्डेन जातको स्याउ लगाइएको छ। ‘धेरै स्याहार गर्न सके एउटै बोटले ४० देखी ४५ किलोसम्म फल दिन्छ, एग्रो मनाङका सुपरभाइजर राजु तामाङ्ले भने,‘मल व्यवस्थापन, हाँगा कटिङ र स्टेपवाइज स्याहारले उत्पादन बढाउँदै लान्छ।’ स्याउको उत्पादन बढाउन स्याउ बोटमा क्षमता अनुसार स्केल कटिङ समेत गर्दै आइएको फिल्ड सहायक मिन प्रसाद गुरुङले बताए। स्याउको प्रकार अनुसार क्षमता थाहा हुने र क्षमता अनुसार स्केल कटिङ गरिने उनले जानकारी दिए।
माथिल्लो मनाङको मनाङ, टङ्कीमनाङ, खाङ्सार, ङावल, पिसाङ, घ्यारु र भ्राकाका बासिन्दाको सगोलमा रहेको ७ सय ३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेती थालिएको हो। यस वर्ष स्याउ उत्पादन राम्रो भएको एग्रो मनाङ प्रालिले जनाएको छ। भदौ अन्तिम साताबाट स्याउ टिप्न शुरु गरिन्छ। गत वर्ष तीन सय टन स्याउ उत्पादन गरी तीन करोड कमाउन सफल भएको एग्रो मनाङले यस वर्ष पाँच सय टन स्याउ फलाउने दाबी रहेको एग्रो मनाङ प्रा.लिका निर्देशक समराज गुरुङले बताए।
उक्त स्याउ फार्ममा हाल ५० जना कामदारहरु कार्यरत छन्। २७ वर्षका लागि जग्गा भाडामा लिएर तीन जातका स्याउ लगाइएको यस स्याउ फार्ममा २५ करोड रुपैयाँ लगानी भइसकेको छ। स्याउ खेतीसँगै पिसाङमै जुुस उद्योग र कोल्डस्टोर समेत खोलिएको छ। स्याउको चिप्स समेत कम्पनी आफैले बनाउँदै आएको छ।
स्याउको बोटले दुई वर्षदेखिबाटै फलदिन सुरु गर्ने र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने कम्पनीले जनाएको छ। जति चिसो त्यति नै सप्रिने स्याउको विरुवा भएकाले अनुकुल वातावरण पाए एउटै बोटले ४५ किलोसम्म उत्पादन दिन सक्ने कम्पनीको दाबी छ। उत्पादित स्याउ पोखरादेखि काठमाडौंसम्म बिक्री हुने गरेको छ। यी जातका स्याउ सामुद्रीक सतहबाट १८ सय मिटरमाथि राम्रो फल्ने भएको र भ्राताङ २८ सय ५० मिटर उचाइ रहेकाले राम्रो फल दिने एग्रो मनाङ प्रालिले जनाएको छ।
नेपालमा माग अनुसारको स्याउ उत्पादन हुन सकेको छैन। सिजन मात्रै थेग्ने स्याउको मागलाई पूरा गर्न व्यापारीहरुले विदेशबाट स्याउ खरिद गर्दै आएका छन्। नेपालमा नै स्याउको उत्पादन बढाउने उद्देश्यका साथ मनाङमा दक्षिण एसियाकै सबैभन्दा ठूलो स्याउ फारम बनाउन कृषकहरु लागि परेका छन्। नेपालमै उच्च क्षेत्रको पहिलो प्रविधि ‘हाइडेन्सिटी एप्पल फर्म’ शुरु गरेको एग्रो मनाङले नयाँ प्रविधिबाटै स्याउ उत्पादन गरिरहेको छ।