कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालिन निषेधाज्ञा आज पनि जारी रहेको छ। लक्ष्मी माताको मुर्ति भने सुरक्षा समितिको बैठक बसी राती नै प्रहरी लगाएर विर्सजन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ।
लक्ष्मी पूजाको मूर्ति बिसर्जनका क्रममा भएको विवादले उग्र रुप लिदा प्रहरीको गोली चलाउँदा २० वर्षीय सुरज कुमार पाण्डेको मृत्यु भएको छ। शव पोस्टमार्टमका लागि तौलिहवा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दीप शम्सेर जबराले जानकारी दिए।
लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको दुईपक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालयले विहीबार विहान ११ बजे देखि कर्फ्यू लगाएको हो। कर्फ्यू कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए।
प्रशासनले कर्फ्यूको अवज्ञा गरेमा कानुन वमोजिम कारवाही गर्ने चेतावनी दिएको छ। कृष्णनगर क्षेत्रमा लक्ष्मी माताको मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा स्थानीय दुई समूहबीच बुधबार साँझदेखि झडप शुरुभएको थियो।
बुधबार बेलुकी लक्ष्मीको मूर्ति विर्सजन गर्ने क्रममा झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्। तनाव बढेपछि प्रहरीले ५० राउण्डभन्दा बढी अश्रुँग्यास प्रहार गरेको थियो।
प्रदर्शनमा उत्रिएका युवाहरुले टफिक प्रहरी पोष्टमा आगजनी गरेका छन्। प्रदर्शनकारी युवाहरुले प्रहरी माथि ढुंगा मुढा, सीसा तथा बोतल प्रहार गरेका छन्। झडपमा परी करिब आधा दर्जन युवाहरु घाईते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बुधवार राती नै दर्जनौं राउण्ड अश्रु ग्यांस प्रहार गरेको थियो।
घटनालाई साम्य पार्न प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, नेपाल प्रहरीका प्रमुख दीपशमशेर जबरा, शशस्त्र प्रहरी प्रमुख जनक पुरी लगायतको टोली दिनभर जसो प्रयासरत भए पनि प्रदर्शनकारीसंग वार्ता र संवाद अघि बढ्न सकेको थिएन। गोली लागि एक युवकको मृत्यु भए पछि घटना थप संवेदशीनल बन्दै गएको छ।
थप हिंसा भड्कन नदिन नेपाल प्रहरी र शशस्त्र प्रहरीको ठुलो टोली घटना स्थलमा परिचालन भएको छ। स्थानीय प्रशासनले कृष्णनगर भंसार नाका र आसपासका नाकाहरु अनिश्किालीन रुपमा वन्द गरेको छ। नेपाल तथा भारत तर्फ आवागमनलाई पूर्ण रोक लगाईएको छ।