वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीकी लक्ष्मी आचार्य धान थन्क्याउने बेला धानको बाला नलागेपछि निक्कै चिन्तित भएकी छन्। लक्ष्मीमात्र होइन, जिल्लामा गरिमा जातको धान लगाएका अरु धेरै किसान बाली भित्र्याउने बेला धानको बाला नलाग्दा चिन्तित भएका छन्। जबकि अन्य जातको धान लगाएका किसानलाई यतिबेला धान खेती भित्र्याउँने हतारो छ।
गरिमा धान राम्रो फल्छ, राम्रो उत्पादन हुन्छ भनेर लगाएको उल्लेख गर्दै लक्ष्मीले भनिन् महँगो धान लिएर आएँ लगानी पनि धेरै लगाएँ मल पनि हालेँ, धान देख्दा राम्रो छ, तर बाला लागेन। लटरम्म फलेको धान काटेर अरुलाई भने भ्याई नभ्याई छ। जितपुर ४ नं.को घिमिरे एग्रोभेटमा जाँदा इन्डियाबाट मगाएको विउ नेपाल सरकारबाट प्रमाणित भएको र केही भएमा क्षतिपुर्ति दिने आश्वासनसमेत दिएको उनले बताइन्।
जिल्लाको वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मी, शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर लगायत जिल्लाका विभिन्न ठाउँका किसानहरु यस्तो समस्या भोग्न बाध्य छन्। वाणगंगा नगरपालिका वडा नं. ८ मोर्मीका भीमलाल न्यौपानेले १० कट्ठामा, सोही गाउँकी लक्ष्मी आचार्यले ५ कट्ठा र नेमसरी गुरुङ्गले १४ कट्ठामा गरिमा धान रोपेका थिए।
यतिमात्र होइन, शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुरका तुलसीराम सापकोटाले १७ कठ्ठामा र गोपाल खड्काले ३२ कट्ठामा यस वर्ष गरिमा धान खेती गरेका थिए। शिवराज नगरपालिका र आसपासका किसानलाई चन्द्रौटा स्थित साझा सहकारी संस्थाले धानको विउ विक्री वितरण गरेको थियो भने वाणगंगा नगरपालिका ८ मोर्मीका किसानले वाणगंगा नगरपालिकाको ४ नंम्वर जीतपुरस्थित घिमिरे एग्रोभेटबाट धानको विउ खरिद गरेका थिए।
कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले यस्तो धानको बीउ बिक्री गर्ने कम्पनी र व्यक्तिलाई कारबाही गरिने बताएका छन्।
२०७२ सालमा सुचिकृत भएको यो धानको डिएनए परीक्षणका लागि पठाइएको मन्त्री खनालले जानकारी दिए। मन्त्री खनालले डिएनए परीक्षणका क्रममा सुचिकृत हुँदा जुन मापदण्ड छन् त्यो नपाइएमा सम्बन्धित व्यक्तिलाई क्षतिपुर्ती पनि दिलाएर कम्पनी खारेजमात्र होइन कारबाही गरिने प्रतिबद्धता जनाए।