दुई–चार पैसा कमाउँला, परिवारको अनुहारमा खुसीका रेखा कोरौंला भन्ने आशाले कपिवस्तुको कपिलवस्तु नगरपालिका ३ सडवाका २६ वर्षीय राजकुमार यादव रुस कमाउन गएका थिए। तर, भदौ १६ मा तीनजना लुटेराको समूहले राजधानी मस्कोस्थित दोमाद्देदोभाका मेट्रो ट्रेनबाट उत्रने क्रममा यादवको हत्या ग¥यो। हत्या भएको १८ दिनपछि राजकुमार बन्द बाकसमा फर्किए। यादवको शव शुक्रबार दिउँसो घरमा ल्याइएको हो। वैदेशिक रोजगारीका लागि उनी पर्यटक भिसामा गएका थिए।
धारिलो हतियार प्रहारबाट पेटमा गहिरो घाउ भएको र अत्यधिक रक्तस्रावका कारण राजकुमारको मृत्यु भएको थियो। सिसीटिभीको फुटेजका आधारमा हत्यारा भने पक्राउ परिसकेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएन) रुस र परराष्ट्र मन्त्रालय लगायतको पहलपछि शव नेपाल ल्याइएको हो। उनी रुसको पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने गर्थे। जुन काम त्यहाँ अवैधानिक मानिन्छ। त्यसकारण पनि शव ल्याउन कठिनाई भएको हो। एनआएनएको सहयोगमा शव नेपाल पठाउने काम भएको राजकुमारका काका राम निवासले बताए। उनका अनुसार एनआरएन रुसका उपाध्यक्ष सुमन रिजालले त्यसका लागि विशेष पहल गरेका थिए।
कमाउन गएका राजकुमारको शव बाकसमा आएपछि सडवा गाउँ यतिबेला शोकमा डुबेको छ। त्यहीँ गाउँमा घर भएका प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तवले राज कुमारको दुःखद मृत्युले सडवा गाउँ नै गहिरो शोकमा डुबेको बताए। ‘राजकुमार शिक्षित पढेलेखेको गाउँको केटा थियो, उसको मृत्युले गाउँमा शोकको माहोल छ’, उनले भने।
मृतककी श्रीमती र सात महिने छोरा छन्। श्रीमानको मृत्युको खबर पाएदेखि नै श्रीमती राजकुमारी अर्धचेत अवस्थामा छन्। आमा जितनी अहिर परिवारको खुसीका लागि विदेशिएको ठूलो छोराको मृत्युले बेहाल छिन्।
उता, करिब ६ बर्षदेखि साउदी अरबमा रहेका बुवा धु्रवकुमार यादव छोराको हत्याको खबर सुनेर घर फर्केका छन्। धु्रबकुमार साउदी अरबको अल हाम इबिसी कम्पनीमा कार्यरत थिए। कम्पनीले फर्कन नदिएपछि उनी त्यहाँबाट भागेका थिए। त्यसपछि सुरक्षाकर्मीले पक्राउ गरेर ४ दिन उनलाई जेलमा राखेको थियो। पछि उनीहरुले नै आफूलाई नेपाल फर्काएको धु्रबले बताए।
छोराको मृत्युको खबर पाएको एक सातापछि उनी नेपाल आएका हुन्। ‘म साउदी अरब भएका बेला ठूलो छोरा राजकुमार रुस गएको थियो’, उनले भने, ‘मैले नजान भनेको थिएँ तर गयो अहिले यस्तो बज्रपात भो’ उनले भने। कमाउन गएको छोराको विदेशबाट शव आउँदा उनको परिवारका अहिले गहिरो दुःख छाएको छ ।
राजकुमारको शनिवार रामघाटमा दाहसंस्कार गरिएको छ।