सहिदमार्गको घर्तीगाउँ–थबाङ खण्डको छेर्लोबाङमा पहिरो खस्दा एउटा घर पुरिएको छ । घरसँगै पहिरोमा पुरिएकामध्ये २ जनाको शव फेला पारिएको प्रहरीले जनाएको छ ।
थबाङ गाउँपालिका २, छेर्लोबाङस्थित शिरकुमारी बुढामगरको घर बिहीबार राति पहिरोमा पुरिएपछि २८ वर्षीया शिरकुमारी र उनका ४ वर्षीय छोरा असललगायत अन्य पनि पुरिएका थिए । उद्धारका क्रममा शिरकुमारी र असल (आमा-छोरा) को शव भेटिएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार उद्धारका लागि थप प्रहरी र स्थानीय बासिन्दा परिचालन भएका छन् । ३ दिनदेखि भएको वर्षाले घर माथिबाट निर्माणाधीन सहिद मार्गबाट पहिरो खसेको हो । प्रहरीले पुरिएको घरभित्र ६ जना रहेको हुनसक्ने आशंका गरेको छ ।
घटनास्थल लिबाङबाट करिब ६० किमि उत्तरमा पर्छ । बिहीबार दिउँसोबाट भारी वर्षा भइरहेपछि पहिरो खस्ने आशंकाले छिमेकी पनि शिरकुमारीको घरमा आश्रय लिएर बसेका थिए ।
प्रहरीका अनुसार पुरिएको घरको तल्लो तलामा बास बसेका ३६ वर्षीय जय बुढामगर, उनकी ४० वर्षीया पत्नी मूलज्योति बुढामगर, १० वर्षीया छोरी गृष्मा र अर्की डेढ वर्षीया छोरी थिए । यस्तै केही वस्तुभाउ पनि पुरिएका छन् ।