मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) पनि मुलुकका केही स्थानमा भारी वर्षा हुने जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत अनुरोध गरेको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ । उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
यद्यपि आइतबार भने देशभर सामान्य बदली रही पूर्वी र मध्य क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रदेश नं १, ३, ५ र गण्डकी प्रदेशका मध्यपहाडी तथा चुरेको भू–भागबाट बहने केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
देशका केही स्थानमा अझैं भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो जान सक्ने र पहाड तथा चुरेबाट बहने खोलामा जल सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन् ।
उता, तराईका जिल्लाहरुमा बाढीको पीडामा रहेका सर्वसाधारणले राहतको आश गरिरहेका छन् । नेताहरु बेला-बेला उनको पीडामा मल्हम लगाउने भन्दै गए पनि चिउरा, भुजा र त्रिपालबाहेक अरु सहयोग पाउन सकिरहेका छैनन् । अब मरेका चौपाया तथा दूषित पानीका कारण पानीजन्य सरुवा रोगको प्रकोप बढ्ने निश्चित देखिएको छ ।
यस्तै सर्पदंशको प्रकोप पनि बढिरहेको छ । बाढीपछि प्रदेश १ र २ मा अहिलेसम्म सर्पदंशबाट ४ जनाको ज्यान गइसकेको छ । अस्पतालमा दैनिक २५ जनाभन्दा बढी सर्पदंशको उपचारका लागि पुग्ने गरेका छन् । झाडापखला तथा आउँका बिरामी पनि बढ्ने क्रममा छन् । बाढीपीडितहरु औषधि उपचारको पर्खाइमा छन् ।
यता त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी भने बाढी प्रभावितको स्वास्थ्य जाँच गर्न रौतहटको भावित ईशनाथ नगरपालिकाको बन्जरहा पुगेका छन् । उनले शुक्रबारदेखि बन्जरहाको स्वास्थ्य चौकीमा आएका बिरामीहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिरहेका छन् । उनलाई स्थानीय स्वास्थ्यकर्मीहरुले भने सघाइरहेका छन् ।
स्वास्थ्य चौकीमा आएका दर्जन बढी सर्वसाधारणमा झाडापखाला लागेको पाइएको छ । ‘पानी पूरै प्रदूषित छ । स्थानीयमा झाडापखालाको लक्षण देखिन थालेको छ,’ डा. केसीले भने, ‘शौचालयहरु अव्यवस्थित छन । खानेपानीका मुहान दूषित भएका छन्, अहिले नै सचेत भइएन भने महामारी फैलिन सक्छ ।’
बाढीबाट प्रभावित बस्तीमा झाडापखालासँगै भाइरल ज्वरोलगायतका रोग देखापरेको केसीको भनाइ छ । बाढी आएको ९ दिन बितिसक्दा पनि जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय विपत् व्यवस्थापन समितिले स्वास्थ्य परीक्षणको कुनै पहल पनि गरेका छैनन् ।
‘हवाई निरीक्षण गरी फर्केका मन्त्रीहरुले राम्रो गरेनन्’
यस्तै प्रतिनिधिसभाअन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समितिले प्रदेश २ मा बाढी तथा डुबानले पुर्याएको जनधनको क्षतिको स्थलगत निरीक्षण सुरु गरेको छ ।
सांसदहरुको २ टोली बनाएर शनिबारदेखि स्थलगत निरीक्षण सुरु गरेको समितिले प्रदेश २ का आठवटै जिल्लामा निरीक्षणपश्चात सरकारलाई प्रतिवेदन बुझाउने जनाएको छ । जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै समिति सदस्य राजेन्द्र महतोले प्रतिवेदन बुझाइसकेपछि विस्थापित परिवारलाई पुन:स्थापनका लागि सरकारलाई दबाब दिने बताए ।
‘सरकारका मन्त्रीहरु हवाई निरीक्षण गरी फर्किए । जनतासँग नभेटेर राम्रो गरेनन् । हामी जनतासँग भेटेर यथार्थ बुझ्न आएका छौं,’ उनले भने । सरकारले बाढी पीडितहरु समक्ष अझै राहत पुर्याउन नसकेकोमा उनले दुःख व्यक्त गरे । ‘पीडितलाई तत्कालै राहत दिनुपर्छ । विस्थापित भएकालाई पुन:स्थापनाका लागि सरकारले चाँडै निर्णय लिन आवश्यक छ ।’ बाढीले बगाएको र भत्काएको घर अविलम्ब निर्माण गर्नुपर्ने उनको भनाइ छ । मधेसवादी दलका नेता तथा मन्त्रीहरुले समेत राहत वितरण तथा उद्धार कार्यमा लागे पनि पर्याप्त नरहेको उनले स्वीकार गरे । समिति सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले धनुषाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
इटहरीमा शनिबार प्रेस युनियन नेपालले शनिबार गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्छन्, 'सरकार लाचार भयो, तराईमा समस्या बढ्यो, सरकार नसच्चिए कांग्रेस चुप बस्दैन' उनले सरकारको लाचारीपनकै कारण तराईमा समस्या बढेको बताएका छन् ।
सातापछि खुल्यो खुर्कोट–घुर्मी सडक/मध्यपहाडी लोकमार्गको काम एक महिनाका लागि रोकियो
मध्यपहाडी लोकमार्गअन्तर्गत सोलुखुम्बुको खुर्कोट–घुर्मी सडक सातापछि खुलेको छ । अविरल वर्षाले असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।
करिब ६० किमि यो खण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको भनाइ छ । उता मध्यपहाडी लोकमार्गको काम एक महिनाका लागि रोकिएको छ ।