प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लाचार भएको बताएका छन् । उनले यही लाचार सरकारकै कारण तराईमा समस्या बढेको बताए ।
प्रेस युनियन इटहरीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले तराईका बाढीपीडितको दुःख हेरेर आएको भन्दै सरकारले केही गर्न नसकेको बताए । मधेस डुबानमा परेको बेला सरकार चुप लागेर बसेको उनको आरोप थियो ।
आफू मधेसका विभिन्न स्थानमा घुमेर आएको र त्यहाँका जनता अत्यन्तै समस्यामा रहेको देउवाले बताए । उनले सरकारले पीडित जनताको घाउमा मल्हम लगाउने काम नगरेको, डुबानको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल नगरेको बताए । उनले सरकार नसच्चिए कांग्रेस चुप लागेर नबस्ने चेतावनीसमेत दिए । उनले भने, 'तराईमा दिनहुँ समस्या बढिरहेको छ, सरकार सच्चिएन भने कांग्रेस चुप लागेर बस्दैन ।'