चाडपर्व नजिकिएसँगै लमजुङमा पनि बजार अनुगमन तीब्र पारिएको छ। तर, जिल्लाका मुख्य बजारहरुमा जति पटक अनुगमन भएपनि व्यापारीहरुमा कुनै परिवर्तन आउन सकेको छैन। न त कुनै व्यापारीलाई कारवाहीको दायरामा नै ल्याइएको छ।
पछिल्लो समय चाडपर्वलाई लक्षित गरी लमजुङको मुख्य बजारहरु अनुगमन हुँदै आएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङ र बेसीशहर नगरपालिकाको पहलमा गत बुधबारदेखि बजार अनुगमन भइरहेका छन्। बजार अनुगमनका क्रममा अखाद्य बस्तु, कुहिएको मासु, विना दर्ता पसल सञ्चालन, सडकको पेटीमा तरकारी फलफूल र ठेला भेटिएका थिए।
व्यापारीहरुलाई करको दायरामा ल्याउन र उपभोक्ताहरुलाई अखाद्य वस्तुको मार कम गर्नका लागि अनुगमन गरिएको तर, अनुगमन फितलो भएको उपभोक्ता मञ्च लमजुङका अध्यक्ष डम्बर अधिकारीले बताए। जिल्लामा पटक–पटक बजार अनुगमन भइरहँदा पनि उही स्वरुपमा देखिनु जुन अनुगमनको कुनै अर्थ राख्दैन।
विना दर्ता पसल सञ्चालन गर्ने व्यवसायलाई दर्ता गर्न आग्रह गरेपनि जिल्लामा अधिकांश पसलहरु विना दर्ता सञ्चालन गरिरहेका छन्। बजारमा म्याद सकिएका अखाद्य वस्तु, कुहिएको मासु, मापदण्ड विपरित फ्रेस हाउस सञ्चालन प्रशस्तै भेटिने गरेको अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताए।
अनुगमन देखाउनका लागि मात्रै नभइ अनुगमन प्रभाकारी हुनु जरुरी भएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए। उद्योग वाणिज्य संघ लमजुङको तथ्यांक अनुसार २ हजार ३ सय ५० व्यवसायीहरु करको दायरामा रहेका छन् भने करिव १ हजार १ सय ५० व्यवसायीहरु करको दायरामा छैनन्।
उद्योग वाणिज्यसँग सहकार्य गरी अनुगमनलाई प्रभावकारी बनाइने र करको दायरामा नआउने व्यापारीहरुलाई करवाही गरिने बेसीशहर नगरपालिका प्रमुख गुमालसिंह अर्यालले बताए। जनताको आँखामा छारो हालेर स्वास्थ्यसँग खेलवाड हुने गरी गुणस्तरहीन अखाद्य बस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने स्थानीयको माग छ।