कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु आज विहानदेखि हटेको छ। बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेका ज्यान गएको थियो। अवस्था तनावग्रस्त बनेपछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाइएको थियो।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले एक सूचना जारी गर्दै आज बिहान ६ बजेदेखि कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको उल्लेख गरेका छन्।
१० बुँदे सहमतिसँगै कृष्णनगरको तनाव साम्य भएकाले कर्फ्यु हटाइएको हो। शुक्रबार बिहान स्थानीय, सम्बन्धित पक्ष, कपिलवस्तु जिल्ला प्रशासन र सुरक्षा निकायका प्रदेश प्रमुखहरूसहितको सर्वपक्षीय वार्तामा १० बुँदे सहमति भएपछि लक्ष्मीपूजाको मुर्ति विसर्जन गरिएको थियो। प्रदर्शनका क्रममा ज्यान गुमाएका पाण्डेको परिवारले शव बुझेर अन्तिम संस्कार गरिसकेका छन्।