पूर्वी लमजुङ दोर्दी गाउँपालिका–४ कामचोकका बाबुछोरी आर्थिक अभावका कारण विचल्लीमा परेका छन्। जन्मेको सात दिनमै छोरीमा अज्ञात रोग देखिएपछि परिवारमा आजसम्म खुसीको मुहार कसैको देखिँदैन।
केसरी गुरुङ यतिवेला अज्ञात रोगका कारण आफ्नो दाइने कान र ओठ गुमाइसकेकी छन्। ‘छोरीलाई रोगले सताउन थालेपछि धैरै ठाउँका अस्पताल भौतारिए, लाखौँ रकम खर्च गरेँ, तर, छोरीमा देखिएको रोगको पहिचान कतै हुन सकेन,’ बाबु कुम्भराज गुरुङले भने।
सदरमुकामबाट निकै टाढाको विकट गाउँमा रहेको गुरुङको परिवारको आर्थिक स्रोत अत्यन्त दयनीय छ। ‘छोरीको उपचारमा आफन्तजनसँग ऋण खोज्दापनि पुगेन, सबै ठाउँ चहार्दा समेत रोगको पहिचान हुन सकेन। अहिले ५ वर्षीया छोरी विना कान र ओठकै साहारामा जीवन विताइरहेकी छ,’ कुम्भराजले दुःखेसोे पोखे।
बाबु कुम्भराज गुरुङ र आमा समा गुरुङको दोस्रो सन्तानका रुपमा जन्मेकी केसरी बालिका अवस्थामै ओठ र दाइने कान गुमाएपछि समाजको अगाडि हासोको पात्र बनेकी छन्। बाबु कुम्भराजले ज्यालामजदुरी गरी जेनतेन दुई छाक टार्दै आएका गुरुङको परिवारमा फेरि ठूलो बज्रपात थपिएको छ। बाबु कुम्भराजको जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेर ढाड भाँचिएपछि उनी थला परेका छन्।
आर्थिक अवस्था कमजोर भएकै कारणले छोरीको उपचार गर्न नसकेको गुरुङको परिवारमा बाबुको ढाड भाँचिएर घरमूली नै थलिएपछि पीडामाथि पीडा थपिएको छ। आर्थिक अभावकै कारण कुम्भराजले ढाडको उचित उपचार समेत गर्न सकेनन्।
‘सामान्य काम मात्र गर्न हुन्छ, जीउलाई भार पर्ने काम गर्ने हुँदैन। अहिले त आँखा पनि देख्न छोडेको छु,’ गुरुङले रुँदै भने। जेनतेन अर्काको मेलापात गरेर श्रीमती समाले दुई छाकको बाटो गर्दै आएकी छिन्। उपचारका लागि लाग्ने खर्च तथा आर्थिक स्रोत कतैबाट जुटाउन सकिन्छ कि भनेर समा गुरुङ भौतारिरहेकी छन्। ‘कसैले साथ दिए आफ्नो छोरी र श्रीमानको उपचार गराउँथे, मेरी छोरी र श्रीमान जीवनभर यसरी नै बाँच्नु पर्ने अवस्था आए के होला? उनी बेलाबेलामा भक्कानिने गर्छिन्।
खरले छाएको पुरानो घरमा यतिवेला समाको काँधमा परिवारको सम्पूर्ण जिम्मेवारी थपिएको छ। एक बृद्ध बज्यै, श्रीमान र दुई छोराछोरीसहित पाँच जनाको परिवार समा एक्लैले समाल्नुपरेको छ।