तपाईं माथि भइरहेको गालीको बौछार देखिरहेको छु, हेरिरहेको छु। मलाई थाहा छ, तपाईं आफैं गरिबी र संघर्षको भुङ्ग्रोमा खारिएको स्पात हो, त्यसैले जस्तासुकै गाली, धाक, प्रलोभन केहीले पनि तपाईंलाई गलाउन, ढलाउन सक्ने छैन। तर यति मात्र स्मरण गराउन खोजेको कि, म, हामी र खासमा लाखौं लाख हामी तपाईंको साथमा छौं ।
तपाईंलाई राम्रोसँग थाहा छ, खासमा, गाली गर्नेहरु नजन्मिएको भए यो विवाद, लड़ाई सुरु नै हुने थिएन। त्यसैले यो लड़ाई गाली गर्ने र नगर्ने वा गाली गर्नु हुन्न भन्नेहरु बीचको, कम्युनिस्ट संस्कृति, संस्कार भत्काउने र बचाउने बीचको पनि हो, त्यसैले आफ्नो ठाउँ नछाडी डटिरहनुस्।
तपाईंले पक्कै बिर्सिनु भएको छैन, हामीले सडकमा गणतन्त्रको लागि नारा लगाइरहँदा, संघर्ष गरिरहदा हाम्रा पार्टीका अहिलेका ठूला ठूला मान्छेहरूले हामीलाई अराजक करार गरिरहेका थिए, पार्टीको औपचारिक बैठकमा हामीमाथि कारबाहीको माग गरिरहेका थिए, अनेरास्ववियु भित्रै पनि गणतन्त्र पास गराउन कहाँको सजिलो भाको थियो र ? तर तपाईं, म, हामी डगेनौं, भागेनौं, परिणाम सबको सामु हाजिर छ।
यति हो, फेरि पनि, देशले, पार्टीले तपाईं, हाम्रो संकल्प र अभियानको माग गर्यो, सहिद र योद्धाहरूको बलिदानबाट यहाँसम्म आएको कम्युनिस्ट पार्टीलाई नामको मात्र होइन कम्निस्ट चरित्र र गुणसहितको कम्युनिस्ट पार्टी बनाउने, ठूलो पार्टी मात्र होइन असल कम्युनिस्ट पार्टी बनाउने, नेताको सुख आनन्दको लागि मात्र सत्तामा पुग्ने होइन सत्तालाई देश र जनताको मुहार फेर्ने, पिल्सिएका, हेपिएका जनताको खुसियाली ल्याउने, साँच्चो खालको समाजवाद ल्याउने साधनको रुपमा प्रयोग गर्ने कम्युनिस्ट पार्टी बनाउने सङ्कल्प, अभियानको अपेक्षा गर्यो। त्यसैले डेग नछाडी डटिरहनुस्, म, हामी, सबै न्यायप्रेमी तपाईंको साथमा छौं, हुने छौं, सबै आउने छन्, तपाईंको रातो रगतको मूल्यमा गणतन्त्र आए जस्तै त्यो दिन आउनेछ, नयाँ दिन आउने छ, उज्यालो दिन आउनेछ।
जहाँसम्म जबजको मानहानी तपाईंले गरेको प्रसंग छ। तपाईंको स्टाटसको सबैभन्दा मूल्यवान् भनाई नै त्यसैमा छ, तपाईंको आशय अज्ञानताले वा अन्धोपनले नबुझ्नु बेग्लै कुरा, तर तपाईंले त स्वार्थको लागि जबजलाई नि हतियार बनाइन्छ, प्रयोग गरिन्छ, नाटक जस्तो बनाइन्छ भन्नु भएको छ जुन सही छ। यदि जबज बोक्ने, नछाड्ने हो भने सरकार बन्दै गर्दा भइरहेको पार्टी एकतामा किन जबजलाई बिर्सियो, छाडियो? त्यतिबेला हामी जस्ता कनिष्टहरुले मात्रै किन जबजको र्याई र्याई गर्नु परेको थियो? कुरा प्रष्ट छ त्यतिबेला जबज समाएको भए दुई तिहाई फुत्किन्छ भन्ने डर थ्यो। त्यसैले जबजको माया त्यतिबेला स्थगित भयो।
निष्कर्षमा स्वार्थको लागि कहिले जबजलाई बिर्सिने कहिले औधी माया गर्ने नाटक गर्नु भएन भन्ने तपाईंको आशय हो। यसमा केही गल्ती छैन। त्यसैले स्वार्थ अनुकूल होइन परिस्थिति अनुसार जबज प्रति धारणा बनाउँदै, जबजलाई सम्मान गर्दै, समाजको परिवर्तन अनुसार जबजबाट लिनु पर्ने जति कुरा लिँदै अघि बढी रहनुस्। जबजको च्याप्टर न पुरै खुल्ला छ न पुरै क्लोज छ। क्रान्ति कसरी गर्ने भन्ने जबजको च्याप्टर क्लोज भयो किनकि क्रान्ति पूरा भयो, क्रान्ति पछि के गर्ने भन्ने जबजको च्याप्टर खुला छ... ।
फेरि पनि लाल सलाम !