संविधानसभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।
नेपाली जनताले झन्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मूर्तरूप लिएको छ। यस अवसरमा लोकतान्त्रिक आन्दोलनका आदरणीय सहिद, सहयात्री जनता र जननायकहरूप्रति सम्मान प्रकट गर्दछु। यस संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ। नेपाली जनतामा निहित सार्वभौमसत्ता र राज्यशक्तिको स्रोत जनता मात्र हुन् भन्ने मान्यता पनि स्थापित भएको छ।
संघीयता र गणतन्त्रसहितको हाम्रो बहुदलीय संसदीय शासन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताको आधारसहित अन्य विषयहरू संविधान कार्यान्वयनको क्रममा अझ फराकिलो र विकसित हुँदै जानेछन्। संविधानको घोषणासँगै देश दिगो शान्ति र राजनीतिक स्थायित्व र न्यायपूर्ण सामाजिक, आर्थिक विकासको बाटोमा तीव्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ। हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त रहेको छ। नयाँ संविधानले सबै क्षेत्र र समुदायका जनताको आकांक्षा र अधिकार, भाषा, भेषभूषा, संस्कृति रपहिचानलाई समान ढंगले संरक्षण र प्रवद्र्धन गर्नेछ। विविधताका बीचमा एकतामा जोड दिँदै सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्ने मौका यस संविधानले प्रदान गरेको छ।
हिमाल–पहाड–तराई–मधेसका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई म यस ऐतिहासिक अवसरमा पारिस्परिक एकता, सहिष्णुता, सहकार्य र मेलमिलापका साथ यस संविधानबाट प्राप्त भएका जनताका अधिकार,उपलब्धि र संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचनालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न आह्वान गर्दछु। संविधान गतिशील दस्तावेज हो। यसको सफल प्रयोग गर्दै सामाजिक न्याय, अधिकार र समृद्धि प्राप्त गर्नेसमेत निरन्तर क्रियाशील रहन आग्रह गर्दछु।
जनताका प्रतिनिधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको रक्षा गर्ने हाम्रो साझा संकल्पको दस्तावेज हो। यो ऐतिहासिक दस्तावेज, नेपालको संविधान निर्माणमा योगदान पु¥याउनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरू संविधानसभाका माननीय सदस्यहरूलाई संविधानसभाका सम्माननीय अध्यक्षमार्फत धन्यवाद दिन्छु।
(तत्कालिन राष्ट्रपति डा। रामबरण यादवले संविधान जारी गर्दा संविधासभामा दिएको अभिव्यक्तिको सम्पादित अंश।)