बीपी कोइरालाले समाजवादको बाटो हुँदै जुन लोकतन्त्रको कुरा गर्नुभयो, त्यो अहिलेसम्म निकै सान्दर्भिक छ । त्यस विषयमा हामी ५० वर्षपछि पनि छलफल गरिरहेका छौं । जबसम्म समाजवाद रहन्छ तबसम्म कांग्रेसको सफलता रहन्छ ।
मैले राष्ट्रपति भएपछि नेपाली कांग्रेस छाडिसकेको छुु। तर कांग्रेसको प्रशिक्षणबाट राजनीतिमा आउने अबसर पाएँ, त्यो मेरा लागि एकदमै सुखको कुरा हो । तर अहिले म कांग्रेस होइन । म राष्ट्रको व्यक्ति हुँ । मलाई अहिले राष्ट्रको चिन्ता छ । म बीपी कोइराला, गणेशमान र कृष्णप्रसाद होइन । मलाई राष्ट्रको चिन्ता असाध्यै लाग्छ । तपाईहरु भन्नुहुन्छ होला ‘रिटायर्ड’ भए पछि काम पाउनु हुन्न, किन चिन्ता लिएर बस्नु भएको होला ?
म व्यवहारिक विषयमा जान चाहन्छु । अहिले कांग्रेसका सभामा युवाहरुको आकर्षण घट्दो छ । कांग्रेसको सभामा ५० बर्षमाथिका मानिसको उपस्थिति बढी छ । पार्टीले अहिले पनि काठमाडौं केन्द्रित मानसिकता बोकेको छ । कांग्रेसको महासमिति बैठक पनि किन जनकपुर, बारा पर्सामा हुन सक्दैन । त्यसैले म भन्छुु कांग्रेस अहिले जनताबाट टाढा हुँदै गएको छ ।
बीपी कोइराला १० दिन जनकपुरमा गएर बस्न सक्ने, कृष्णप्रसाद १० दिन कलैया गएर बस्न सक्ने, गणेशमानजी गएर पर्सामा १० दिन बस्न सक्ने । त्यहाँ गएपछि बीपी, गणेशमान र कृष्णप्रसादले त्यहाँका जनतासँग प्रत्यक्ष कुराकानी गरेर आउन सक्ने गिरिजाप्रसाद पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेर अभियान नै सञ्चालन गर्न सक्ने, अहिलेको नेतृत्वले त्यो काम किन गर्न नसक्ने । अहिले कांग्रेसमा कुन नेता छन्, जो कार्यकर्ताको घरमा गएर बस्छन् । अहिलेका कांग्रेसी नेताहरु पेनगुइन चरोजसरी होटेलमा बस्छन् । अहिले नेताहरु जिल्ला गएपछि शहरमा बस्छन् र त्यहीबाट उडेर आउँछन् । उनीहरु जनताको नजिक पर्नै चाहन्न् । चिन्ताको विषय कांग्रेसका लागि यो हो ।
म यहाँ खासगरी ३ वटा कुरा यहाँ गर्न चाहन्छु । पहिलो कुरा बहुलबादका आधारमा यो संविधान बनाइएको छ । यो एकदमै राम्रो हो । कांग्रेसको सबै सिद्धान्तअनुसार यो संविधान आएको छ । तर यो संविधान धेरै हडबड र गडबडमा आएको छ । पहिलो संविधान सभाबाट संविधान आएन, दोस्रो संविधान सभाबाट आयो । संविधान जारी गर्दा म चाहन्थें, एउटा राम्रो संविधान आओस् । यो संविधानमा धेरै अग्रगामी कुरा छन् । यसैलाई मात्र हामीले व्यवहारमा उतार्न सक्यौं र लागू गर्न सक्यौं भने देश सफलतातिर जान्छ । त्यसैले संविधान कार्यान्वयनको प्रक्रिया अघि बढाउन कांग्रेस जिम्मेवार बन्नुपर्छ । संविधान जारी गर्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी थियो र कांग्रेसकै प्रधानमन्त्री थिए । त्यसैले यो संविधान लागू गराउन कांग्रेस जिम्मेवार भएर लाग्नुपर्ने बेला आएको छ । संविधानको भावनाअनुसार राष्ट्रका सबै समस्याको समाधान खोज्नु पर्छ । अब हामीले कुनै पनि मनमुटाव राख्नु हुँदैन । मधेसको समस्या, जातीय तथा क्षेत्रीय जुनसुकै समस्या पनि संविधानको भावनाअनुसार खोज्नु पर्छ ।
यसैगरी नेपाली कांग्रेस पनि मिलेर जानुपर्ने अवस्था छ । अहिले पनि कांग्रेसले आफ्नै कार्यकर्तालाई दुस्मन देख्छ । नेताहरुले एक अर्कालाई दुस्मन देख्छन् । कांग्रेसमा गुटबन्दी र भ्रष्टाचार छ । यसलाई कसरी उन्मुलन गर्ने विषयमा नेतृत्वले सोच्नुपर्ने बेला आएको छ । कांग्रेसको एकतालाई मजबुत बनाएर लग्नुस् मेरो शुभकामना छ ।
दोस्रो कुरा जुन हामीले धर्मनिरपेक्ष संविधान ल्यायौं । तर कांग्रेसकै शीर्ष नेताहरुबाट धर्म निरपेक्षताका विषयमा प्रश्न उठाउने काम भएको छ । यो एकदमै गलत कुरा हो । यतिबेला धर्म निरपेक्षताको विषयमा फेरि कुरा गर्दा यसले अरु समस्या निम्त्याउन सक्छ । यही संविधानमा हामीले सबै धर्म संस्कृतिलाई सम्मान गर्ने कुराहरु पनि उल्लेख गरेका छौं । यो संविधानमा धर्मान्तरको कुरा छैन । धर्मान्तर गराउनु अपराध हो । मेरो सुझाब छ, धर्मान्तर गराउने विरुद्धको कानुन संसदबाट जारी गराएर लागू गराउनुस ।
म जहाँ जान्छु के सुन्छु भने काठमाडौंमा ५ हजार चर्च खुलिसके । धर्मान्तरले गर्दा द्वन्द्वको विउ रहन्छ र यसले देश र समाजलाई बर्वाद पार्छ । राष्ट्रको एकता सबैभन्दा जरुरी छ ।
तेस्रो कुरा बीपी कोइराला भन्नुहुन्थ्यो, ‘राष्ट्र रहे त्यहाँ प्रजातन्त्रको विरुवा रोप्छु । प्रजातन्त्र रहे त्यहाँ समाजवाद रहन्छ र सामाजिक न्याय पनि लागू गर्दै जान सकिन्छ । हामी कल्याणकारी राज्य बनाउछौं ।’
म त्यस्तो ठाउँको मानिस हुँ, मेरो ठाउँको ‘ढेला चेपा’ पनि कांग्रेस कांग्रेस बोल्छ । ‘ढेला चेपा’ अहिलेको नेतृत्वले बुझ्दैन । किनभने कांग्रेस अब शहर केन्द्रित भएको छ । गाउँको शव्द बुझ्नै छाडेको छ । अहिले पनि ५० प्रतिशत मानिस तराईका गाउँ–गाउँमा बस्छन् । अहिले मधेसका नेता पहाड जादैनन् । पहाडका नेता पनि मधेस झर्दैनन् । मधेसका कति जना नेता पहाड र पहाडका कति जना नेता मधेस पुगेको छ त्यो कांग्रेसले भन्न सक्छ? माफ गर्नुहोला कांग्रेसको एउटा प्रदीप गिरिबाहेक रामचन्द्र जी पनि रामशरण जी पनि रुट लेवलमा तराईमा काम गर्नुभएको छैन । मजस्तो तराईको मानिस हिमाल, पहाड र तराई घुमेको एक जना पनि अहिले नेपाली कांग्रेसमा छैन । त्यसैले म भन्छु अब कसले बनाउँछ कांग्रेस ।
(पूर्व राष्ट्रपति डा रामवरण यादवले बिहीबार राजधानीमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पुस्तक विमोचन समारोहमा दिएको मन्तव्यको सम्पादित अंश)