हामी हर्सोल्लासका साथ दसैं पर्व मनाइरहेका छौं । आज विजया दशमी भए पनि कहीं-कहीं त पूर्णिमासम्मै टीका-जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने चलन पनि छ । वर्षदिनको चाडमा मीठो खाने र लगाउने चलन पनि छ ।
अझ दसैंमा मासुका विभिन्न परिकार खाने र खुवाउने गरिन्छ । तर अस्वस्थ मासुले शरीरलाई हानि पनि गर्छ । तसर्थ मासु खाँदा स्वच्छ र ताजा मासु खानु लाभदायक मानिन्छ । धेरै दिन फ्रिजमा राखेको मासुले शरीरलाई हानि गर्न सक्छ । तसर्थ चाडबाडमा मासु खाँदा विशेष ध्यान पुर्याउन आवश्यक हुने चिकित्सकहरुले सुझाएका छन् ।
खानपानमा ध्यान नदिए पेटको रोग हुनसक्छ । यसर्थ खानपानमा विशेष ध्यान दिनु जरुरी छ । खानपानमा विशेष ध्यान दिए हामीले चाडबाड पनि राम्रैसँग मनाउन सक्छौं । अपच हुने गरी खाए या शरीरले थेग्नै गाह्रो पर्ने गरी खाए चाडबाडमा अस्पतालको बास हुने सम्भावना उत्तिकै रहन्छ । तसर्थ खुसी साथ चाड मनाउनकै लागि स्वस्थ शरीरको ख्याल राख्न जरुरी पनि छ ।
तुलनात्मक अरु दिनमा भन्दा पनि चाडबाडमा मासु धेरै खाने, चिल्लो खानेकुरा खाने, मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ खाँदा शरीरलाई हानि पुर्याउँछ । चाडको बहानामा चिल्लो र तारेका खानेकुराले पनि स्वास्थ्यमा असर पुर्याउने चिकित्सकहरुको भनाइ छ ।
चिकित्सकहरुका अनुसार चाडबाड भए पनि ठिक्कको खाने, व्याम नियमित गर्ने, फाइबर युक्त खानेकुरा, साग-फलफूल अलि बढी खाँदा स्वास्थ्यलाई हानि त होइन फाइदा भने पक्कै गर्छ ।
मासु तथा मासुजन्य खानामा तेल, नुन र खुर्सानीको मात्रा कम गरी खान सकिन्छ । यसले स्वास्थ्यलाई धेरै नोक्सान पुर्याउँदैन । अझ रातो मासुको साटो सेतो मासु खाँदा शरीरलाई धेरै नोक्सान पुर्याउँदैन । मुटु रोगीले त झन् मासु भन्दा माछा खाँदा फाइदा हुन सक्छ ।
खसी, राँगा, बंगुर आदिका मासु रातो हुन् । यसमा बोसोको मात्र धेरै हुने भएकाले मानव शरीरलाई नोक्सान पुर्याउँछ । रातो मासुको सेवनले उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, मधुमेह हुने, मुटुको धमनी साँघुरो हुने, ह्दयाघात, पक्षाघातजस्ता समस्या हुन सक्ने चिकित्सकहरुको बताउँछन् ।
बरु सेतो मासु अर्थात् कुखुरा, माछा खाँदा मुटु रोग लाग्ने सम्भावना निकै कम रहेको हुँदा यसतर्फ बढी ध्यान दिए स्वस्थ हुन सकिन्छ ।
अझ पोलेर त मासु खाँदै नखानुहोला यसले झन् क्यान्सरको जोखिम बढाउन सक्छ । पोलेको मासु स्वादका लागि मात्र हो शरीरका लागि त विष समान हुन्छ ।
कति खाने मासु ?
मासु कति खाने भन्नेकुरा उमेरअनुसार फरक पर्छ । ४-५ टुक्रा मासुले ८० क्यालोरी प्रदान गर्छ । चाडपर्व होस् वा अन्य समय आफ्नो खानामा दिनहुँ सन्तुलित आहारको आवश्यकता पर्छ । सय ग्राम कुखुराको मासुमा ३१ ग्राम प्रोटिन र खसीको मासुमा २१ ग्राम प्रोटिन हुन्छ । दैनिक प्रोटिनको आवश्यकता पनि उमेरअनुसार फरक पर्छ ।
१४ देखि १८ वर्षकालाई ६५ ग्राम, १९ देखि ७० वर्षका पुरुषलाई ६४ ग्राम प्रोटिनको आवश्यकता पर्छ । यसैगरी १४ देखि १८ वर्षका महिलालाई ४५ ग्राम, १९ देखि ७० वर्षका महिलालाई ४६ ग्राम प्रोटिनको आवश्यकता पर्छ ।
गर्भवती ६० ग्राम र सुत्केरी महिलालाई ६७ ग्राम प्रोटिन चाहिन्छ । अन्यलाई भन्दा गर्भवती तथा सुत्केरी महिलालई धेरै प्रोटिनको आवश्यकता पर्छ । दैनिक खानामा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन मिनरल सन्तुलित मात्रामा हुनुपर्छ ।