कर्णाली प्रदेशको कालीकोटमा दुईदिने निःशुल्क आँखा शिविर आयोजना गरिएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुरले बिहीबारदेखि शिविर चलाएको हो ।
नेपाल नेत्रज्योति संघ कालीकोटको आयोजना कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविरमा पहिलो दिन ७ सय बढीको आँखा जाँच र सय बढीको मोतिविन्दुको शल्यक्रिया गरिएको राप्ती आँखा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए । राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा. सुरेश रसाइली, नेत्रअधिकृत, नेत्रसहायकलगायत २० जनाको प्राविधिक टोलीले शल्यक्रिया तथा आँखा चेकजाँच गर्ने सूचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।
दाङ शाखा सभापति कृष्णकुमार गिरीले प्रदेश सरकारले आँखा उपचार सेवाका लागि २ करोड रुपैयाँ दिने वचन दिएको जनाए । ‘अव हामी कर्णाली प्रदेशका सबै स्थानमा आँखा उपचार सेवा दिनेछौं, जुम्ला र कालीकोटमा शिविर आयोजना गरी सयौलाई उज्यालो दिएका छौं,' उनले भने ।
कर्णाली प्रदेशमा मोतिविन्दुका कारण धेरैले दृष्टि गुमाउनुपरेको छ । शिविरमा नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्का, राप्ती आँखा अस्पतालका नेत्रविशेषज्ञ डा. सुरेश
रसाइली सहभागी थिए ।
शिविरमा आएका कालीकोटका ८२ वर्षीय आइले तिरुवाले घर-आँगनमै विशेषज्ञ डाक्टरबाट
शल्यक्रियाका साथै आँखा चेकजाँच गराउन पाउदा आफुहरु खुसी भएको बताए । त्यस्तै जुम्ला १ का ८९ वर्षीय शेरे सार्कीले पनि पहिलोपटक आँखा जाँच गराएको र निःशुल्क चस्मा पाउँदा खुसी भएको बताएका थिए ।
दुईदिन चल्ने शिविरमा अछाम, जुम्ला,दैलेख कालीकोटका विभिन्न जिल्लाबाट सर्वसाधारण आएका छन् ।