नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग क्रिकेट गर्न भारतीय कम्पनी सेभेन थ्रीस्पोर्ट्सँग सम्झौता गरिनु त्रुटिपूर्ण भएको जनाएको छ ।
क्यानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनगरी आयोजनाको अधिकार सेभेन थ्रीस्पोर्ट्सलाई दिनु गल्ती भएको स्वीकार गरेको हो । ‘‘क्यानका अध्यक्ष चतुरबहादुर चन्दले साधारण सभाले नै पारित गरी प्रतियोगिताको लागि सेभेन थ्रीस्पोर्ट्सलाई दिइएको हो । तर, त्यो अहिले आएर सही रहेनछ भन्ने भयो,’’ चन्दले भने ।
चन्दले नेपाल टी–२० लिगको पहिलो प्रयास र सम्झौता गल्ती भएको भन्दै क्यानले कुनै गलत नियत राखेर सम्झौता नगरेको पनि स्पष्ट पारे । सम्झौता अनुसार काम नहुँदा गाह्रो भएको पनि उनले बताए ।
खेल मिलेमतोमा क्यानका पदाधिकारी संलग्न भएको पाइएमा कारबाही गरिने चन्दको भनाई थियो । टी–२० लिगमा स्पट फिक्सिङ भएको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी ‘स्पट फिक्सिङ’ मा ६ विदेशी र चार जना नेपाली संलग्न भएको जानकारी दिएको थियो ।
सीआईबीले स्पट फिक्सिङमा संलग्न नेपालका पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई मंगलबार नै सार्वजनिक गरेको छ । क्रिकेटरद्वयलाई अनुसन्धानका लागि पाँच दिन म्याद समेत थपिएको छ ।