अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउन तल्लो सदनमा महाअभियोग प्रस्ताव पेश भएकाे छ।
डेमोक्र्याटिक पार्टीद्वारा हाउस अफ रेप्रिजेन्टेटिभ्समा पेश गरिएको प्रस्तावमा ट्रम्पमाथि गत साताको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने जनाएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्मा राखेको प्रस्तावमा डोनल्ड ट्रम्पबाट राष्ट्रपतीय शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरिएको छ।
महाभियोग विधेयकका प्रस्तावकहरूले तल्लो सदनबाट पारित गर्न आफूहरूसँग आवश्यक सांसद सङ्ख्या रहेको बताएका छन्। तल्लो सदनबाट ट्रम्पमाथि महाभियोग लगाइएमा उनलाई दोषी ठहर्याउने या नठहर्याउने भन्ने विषयमा माथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ।
त्यहाँबाट पारित हुन दुई तिहाइ मत आवश्यक हुन्छ। तर त्यो प्रक्रिया तत्काल टुङ्गोमा पुग्नेमा डेमोक्र्याटहरू नै विश्वस्त देखिएका छैनन्।