कोभिड - १९ को उदगम विन्दू मानिएको चीनमा फेरि प्लेगका बिरामी भेटिन थालेको छ । चीनको स्वायत्त क्षेत्र मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएको हो ।
बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई अहिले क्वारन्टीनमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ। सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरिरहेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। प्लेग घातक हुने भएपनि उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव रहेको चिकित्सकहरुले बताएका छन्।
बायान्नुरस्थित एउटा एक अस्पतालमा पुगेका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो।तर उनमा कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन।
प्रशासनले प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ।गत वर्ष मे महिनामा मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो। मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो।
त्यहाँ मानिसमा मार्मटको काँचो मासु र मिर्गौला खाँदा स्वस्थ भइने जनविश्वास रहेको छ । मार्मटले प्लेग लगाउने सूक्ष्मजीव बोकेको हुन्छ ।उक्त जीवको सिकार गर्न प्रतिबन्ध लगाइएको छ।
सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ।प्लेग भएपछि लिम्फ नोड अर्थात् जसीका ग्रन्थिहरू सुनिन्छन्।
१४ औं शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको मृत्यु भएको थियो।यस्तै १९ औ शताब्दीमा चीन र भारतमा प्लेग रोगले महामारीको रुप लिदा एक करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो।