पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको छ, विमानमा ९९ जना सवार थिए। एयरबस ए ३२० पि के ८३०३ विमान दिउँसो १ बजे लाहोरबाट कराँची विमानस्थलका लागि उडान भरेको थियो।
कराँची विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको जहाज दुर्घटना भएर बस्तीमा खसेको बताइएको छ। विमान अवतरण हुनै लाग्दा कालो धुवाँ निस्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
पाकिस्तान सरकारका तर्फबाट अहिलेसम्म घाइते हुने र मृत्यु हुनेहरूको कुनै सूचना सार्वजनिक गरिएको छैन। पाकिस्तानमा कोरोना भाइरसका कारण लगाइएको लकडाउन खुल्ला गरेपछि हवाई उडान सुरु भएको थियो। विमान रिहाइशी क्षेत्रको मोडल कोलनीमा खसेको बताइएको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुर्घटनाको छानबिनको आदेश दिएका छन्।