भारतीय सेना प्रमुख जनरल एम एम नरवनेले नेपालले भारतीय कदमप्रति आपत्ति जनाउनुमा चीनको भूमिका रहेको आरोप लगाएका छन् ।
नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक भारतले उद्घाटन गरेपछि नेपालले कडा आपत्ति जनाएको थियाे ।
मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एण्ड एनालिसिस, नयाँ दिल्लीस्थित थिन्क ट्यांकले आयोजना गरेको अनलाइन सम्मेलनलाई सम्बोधन गर्दै नरवनेले यस्तो आरोप लगाएका हुन् ।
‘काली नदीपूर्वमा नेपाली क्षेत्र छ र पश्चिमतर्फ भारतीय क्षेत्र हो। यसमा कुनै विवाद छैन’, उनले भनेका छन्, ‘हामीले बनाएको सडक नदीको पश्चिममा छ ।
आन्दोलन के उद्देश्यले भइरहेको छ ? त्यसबारेमा थाहा पाउन सकेका छैनौं ।’ उनले सडक खनिएको क्षेत्रमा त्यस्तो कुनै समस्या नै नरहेको जिकिर गरेका छन् ।
‘मलाई थाहा छैन, वास्तवमा के को लागि आपत्ति जनाएका हुन्’, उनले अगाडि भने, ‘विगतमा यस विषयमा केही समस्या थिएन ।
के कारण उनीहरूले समस्या उत्पन्न गराइरहेको हो ? बुझ्न सकेको छै । कसैको इशारामा भारतको विरोध गरिरहेको धेरै सम्भावना छ ।’
भारतीय सेना प्रमुखले नेपालले विरोध गर्नुपछाडि कुनै शक्तिको भूमिका रहेको आशंका गरेका छन् । उनले भारतले दिने गरेको सल्लाहलाई पनि नेपाले बेवास्ता गरेको गुनासो गरेका छन् ।
भारतीय सेनाले खनेको बाटो चीनको सीमा क्षेत्रमा पुग्न ५ किलोमिटर बाँकी रहेकै अवस्थामा उक्त सडक रक्षामन्त्री सिंहले उद्घाटन गरेका छन् ।
भारतले दुई साताअघि नेपाली भूमि लिपुलेक हुँदै सडक खोलेपछि नेपालले कडा आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्रालाई कूटनीतिक नोट पठाएर आपत्ति जनाइसकेको छ ।