विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार ६५७ पुगेको छ। बिहिबार एकैदिन ७ हजारभन्दा बढीको मृत्यु भएको छ। बिश्वभर संक्रमितको संख्या १६ लाख नाघेको छ।
भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या १ लाख ४३ हजार पुगेको छ।
सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ। अमेरिकामा अहिलेसम्म १६ हजार ६६३ जनाको भाइरसको कारण मृत्यु भइसकेको छ भने ४ लाख ६८ हजार संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ८७२ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ। यहाँ १ लाख ५३ हजार संक्रमित भेटिएका छन्। फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ। जहाँ संक्रमितको संख्या १ लाख १७ हजार नाघेको छ।
यसैगरी, बेलायतमा मृत्यु हुनेको संख्या ७ हजार ९७८ पुगेको छ। जर्मनीमा मृतकको संख्या २ हजार ६०७ पुगेको छ भने संक्रमितको संख्या १ लाख १८ हजार पुगेको छ।