कोरोना भाइरसका बारेमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टरको निधन भएको छ। वुहान केन्द्रीय अस्पतालमा कार्यरत रहेकै बेला आफैं संक्रमित भएका लि वेनलियाङको निधन भएको हो। उनले गत ३० डिसेम्बरमा सार्सकै जस्तो लक्षण भएको भाइरस फेला परेको भन्दै आफ्ना सहकर्मीलाईलाई सचेत गराएका थिए। तर प्रहरीले हल्ला फैलाएको भन्दै उनलाई रोकेको थियो।
पेशाले नेत्ररोग विशेषज्ञ रहेका लिले आफ्नो पहिलो चेतावनीको एक महिनापछि अस्पतालको बेडबाट सामाजिक सन्जाल विबाओमार्फत् आफ्ना कुरा सार्वजनिक गरेका थिए। उनले सुरुमा सन् २००३ मा विश्वव्यापी रुपमा महामारी फैलिएको सार्सजस्तै देखिने भाइरस फेला पारेको जनाएका थिए। त्यतिबेला यो भाइरस ७ जनामा देखिएको थियो।
३० डिसेम्बरमा उनले सामाजिक सन्जालको च्याट ग्रुपमा आफ्ना सहकर्मीलाई चेतावनी दिँदै संक्रमणबाट जोगिने खालको कपडा लगाउन भनेका थिए। त्यसको ४ दिनपछि पब्लिक सेक्युरिटी ब्युरोका अधिकारीहरुले उनलाई सोधपुछ गर्दै एउटा पत्रमा हस्ताक्षर गर्न लगाएका थिए। त्यसमा उनलाई गलत हल्ला फैलाएको र सामाजिक सुरक्षामा खलल पुर्याएको आरोप लगाएका थिए। उनीसहित ८ जनालाई त्यसको अभियुक्त बनाइएको थियो।
पछि भाइरसको संक्रमण फैलँदै गएपछि स्थानीय अधिकारीहरुले डा लिसँग माफी मागेका थिए।
विबाओमा गरिएको पोष्टमा उनले १० जनवरीमा आफूलाई खोकी लागेको, अर्को दिन ज्वरो आएको र २ दिनपछि अस्पताल नै भर्ना भएको उल्लेख गरेका छन्। ३० जनवरीमा उनलाई कोरोना भाइरस भएको पत्ता लागेको थियो।
उनको मृत्युको समाचार सामाजिक सन्जालमा फैलिएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्। उनीहरुले डा लिको मृत्युमा वुहान सरकार जिम्मेवार रहेको भन्दै माफी माग्न माग गरेका छन् भने वाक स्वतन्त्रताको माग पनि गरिएको छ। तर केही समयमै यो हटाइएको थियो। ती दुवै ह्यासट्यागमा आएका हजारौं प्रतिक्रिया पनि डिलिट गरिएको थियो।
कोरोना भाइरसले हालसम्म ६सय ३६ जनाको मृत्यु भइसकेको छ भने मुख्यभूमि चीनमा मात्र ३१ हजार १ सय ६१ जना संक्रमित भइसकेका छन्। बिहीबारमात्र ७३ जनाको मृत्युभएको तथ्यांक सार्वजनिक गरिएको छ।