बेलायतमा आज आम निर्वाचन हुँदैछ। युरोपली युनियनबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) तथा देशको भविष्यलाई लिएर भइरहेको अन्यौलका बीच आमचुनाव हुन लागेको हो। बेलायतमा ५ वर्षमा तेस्रोपटक आमचुनाव हुँदैछ। निर्वाचनमा इङल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डका गरी ६५० निर्वाचन क्षेत्र छन्।
निर्वाचनमा सत्तारुढ कन्जरभेटिभ पार्टी र विपक्षी लेबर पार्टीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। पछिल्ला मत सर्वेक्षणहरुले प्रधानमन्त्री बोरिस जोनसनको दलले बढी स्थान जित्ने देखाएका छन्। ब्रेक्जिट र बेलायतको भविष्यका बारेमा प्रधानमन्त्री बोरिस जोनसन र विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले पुरानै शैली र योजना अघि सारेका छन्।
विपक्षीको समेत सहमतिमा हुन लागेको चुनावमा जोनसनले बहुमत हासिल गर्ने र ब्रेक्जिटको गतिरोध तोड्ने आशा राखेका छन्। ब्रेक्जिटसम्वन्धी प्रस्तावमा सहमति जुटन नसकेपछि जोनसनले निर्वाचनमा जाने निर्णय गरेका हुन्। सन् १९७४ यता पहिलोपटक बेलायतमा डिसेम्बर महिनामा चुनाव हुन लागेको हो। आज हुने मतदानको परिणाम शुक्रबारसम्म आइसक्ने छ।