बेलायतको लण्डनस्थित लण्डन ब्रिजमा भएको आतंकवादी आक्रमणमा दुईजनाको मृत्यु भएको छ।
आक्रमणमा थप एकजना घाइते भएका छन्। लण्डन ब्रिजमा एकजना ब्यक्तिले सर्वसाधारणमाथि अन्धाधुन्ध रुपमा चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहारवाट घाइते भएका तीन जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।
आक्रमणकारीको पनि प्रहरीको गोली लागेर मृत्यु भएको छ। प्रहरीले आक्रमणलाई आतकंकारी घटना भनेको छ। आक्रमणमा सग्लन ब्यक्ति यसअघि आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा जेल सजाय काटिसकेको बताईएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बोरिस जोनसनले प्रहरीलाई अनुसन्धानमा सरकारले पूर्ण सहयोग गर्ने बताएका छन्। लण्डन ब्रिजको उत्तरी भागमा रहेको फिसमोन्गेर्स हलमा शुक्रबार अपरान्ह क्रिमिनल जस्टिस सम्बन्धी कार्यक्रम भइरहेका बेला आक्रमण भएको हो।
कार्यक्रममा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थी तथा पूर्व कैदीको सहभागिता थियो। दुईबर्षअघि पनि लण्डन ब्रिज नजिकै आतंककारी आक्रमण भएको थियो। आक्रमणमा आठ जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए।