अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमाथि आगामी डिसेम्बर ४ मा पहिलो सुनुवाइ हुने भएको छ। अमेरिकी कंग्रेसले त्यसका लागि ट्रम्पलाई संसदमा आमन्त्रण गरेको छ।
संसदको न्यायिक समितिका डेमोक्रेटिक अध्यक्ष जेरोल्ड नाडलरले ट्रम्प उक्त सुनुवाईमा उपस्थित हुन सक्ने या प्रक्रिया नै रोक्न आवेदन दिन सक्ने बताएका छन्। सुनुवाईमा ट्रम्प उपस्थित भएमा त्यहाँ उठेका प्रश्नहरुको उनले जवाफ दिनसक्नुपर्ने बताइएको छ।
डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जोय बिडेनविरुद्ध अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको खुलासा भएपछि उनीमाथि महाअभियोग प्रस्ताव अघि बढाइएको हो । बिडेनमाथि अनुसन्धान गर्न दबाब दिन युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने चेतावनी दिएको विषयमा पनि अनुसन्धान भइरहेको छ। ट्रम्पले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।
गत साता संसदको इन्टेलिजेन्स कमिटिले २ साताको सुनुवाई समाप्त गरेको थियो भने कैयौं सातासम्म प्रत्यक्षदर्शीका अन्तर्वार्ता बन्दकोठामा लिइएको थियो।