भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा पहिरोमा परेर छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार जना सैनिक र दुईजना भरिया रहेका छन्।
आठजना सम्मिलित टोली हिमशृङ्खलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परेका हुन। पहिरो लगत्तै उनीहरुलाई उद्दार गरिएपनि बचाउन नसकिएको भारतीय सेनाले जनाएको छ।
अत्यधिक चिसोले कठाङ्ग्रिएका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। सियाचिन क्षेत्रको सार्वभौमिकतालाई पाकिस्तान र भारत विच विवाद रहेको छ। सो क्षेत्रमा दुबै देशका सेनाले गस्ती गर्दै आएका छन। उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमा परिचित छ।
सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको थियो। त्यसबेला देखि लडाइँबाट भन्दा हिमपहिरोमा परेर बढी सैनिकको मृत्यु भएको छ। यसअघि सन २०१६ मा पनि दश सैनिकको मृत्यु भएको थियो।