अस्ट्रेलियाको न्यु साउथ वेल्स र क्विन्सल्यान्डमा भीषण आगलागी हुँदा ३ जनाको मृत्यु हुनाको साथै हजारौं घरवारविहीन भएका छन्।
गत सातादेखि सुरु भएको आगलागीका कारण ‘फायर इमर्जेन्सी’ लागू गरिएको छ। दुई राज्यमा १ सयभन्दा बढी स्थानमा आगो लागेका छन्। आगो निभाउन १३०० भन्दा बढी अग्नीनियन्त्रक खटिएका छन्। प्रधानमन्त्री स्कट मोरिसनले आवश्यक परे सेनाको पनि सहयोग लिने जनाएका छन्। आगो निभाउन सयौं स्वयंसेवक खटिएका छन्।
अधिकारीहरुले आगामी दिनमा मौसम झनै बिग्रने हुँदा आगो अझै फैलने जनाएका छन्। आगो सिड्नीनजिकै आउने खतरा रहेको पनि बताइएको छ।
न्यु साउथ वेल्सका अग्नीनियन्त्रक अधिकारीहरुले त्यहाँ १५० भन्दा बढी घर नस्ट भएको जनाएका छन्। ६ मिटरसम्म अग्लो आगोको लप्का ८० किलोमिटर प्रतिघन्टाको गतिमा तीव्र रुपमा फैलिइरहेको जनाइएको छ।