ककपिटमा एक महिला यात्रीको तस्बिर भइरल भएपछि चीनका एक पाइलटलाई आजीवन विमान उडाउन प्रतिबन्ध लगाइएको छ ।
त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त तस्बिर गएको जनवरीमा ग्वायलिनबाट यांगझू गइरहेको एयर ग्वायलिनको विमानमा लिइएको हो ।
तर, यो तस्बिर यही साता मात्र भाइरल भएको हो । जसका कारण एयरलाइन्सले पाइलटलाई कारबाही गर्नुपरेको हो । तस्बिरमा एक महिला ककपिटमा बसेको देखिन्छ र उनको साथमा खाजा पनि देखिन्छ । एयर ग्वायलिनले विमान चालकले हवाई सुरक्षा नियमको उल्लंघन गरेको जनाएको छ । सरकारी समाचार संस्था ग्लोबल टाइम्सका अनुसार यो घटना ४ जनवरीको हो । जीटी १०११ विमानको ग्वायलिनबाट यांगझूतर्फ उडान भइरहेको बेलामा यो घटना भएको बीबीसीले जनाएको छ ।
एक यात्रुको पोस्टको स्क्रिन सट माइक्रो ब्लगिङ साइट बीबोमा तीव्र गतिमा सेयर गरिएको थियो । पोस्टमा एक महिला आफ्नो औंलाले चीनको एक लोकप्रिय पोज दिइरहेको देखिन्छ । फोटोको साथमा उनले लेखेकी छन्, 'क्याप्टेनलाई धन्यवाद, धेरै खुसी छु ।' यो घटनाले गर्दा पाइलटलाई आजीवन प्रतिबन्ध लगाइएको छ । यद्यपि पाइलटको नाम खुलाइएको छैन । -बीबीसी