अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रेजेन्टेटिभ्स’ले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने विषयको छानबिनलाई औपचारिकता दिने प्रस्ताव पारित गरेको छ।
संसदमा भएको मतदानमा प्रस्तावको पक्षमा २ सय ३२ मत र विपक्षमा १ सय ९६ मत खसेको हो। प्रस्ताव पारित भएसँगै ट्रम्पका विरुद्धको छानबिन सार्वजनिक चरणमा पुगेको छ।
संसद्मा भएको मतदान राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने वा नलगाउने विषयको भने हैन।
प्रस्तावमा महाभियोग लगाउने विषयमा भइरहेको छानबिनले अझ सार्वजनिक रूप कसरी लिन्छ भन्ने कुरा समेटिएको बताइएको छ। सभामुख न्यान्सी पेलोसीले आफ्नो पार्टीले अमेरिकी संविधान र प्रजातन्त्रको रक्षाका निम्ति यस्तो कदम चालिरहेको बताएकी छन।
अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले प्रस्तावको निन्दा गरेको छ।
प्रस्ताव पारित भएसँगै ट्रम्पका वकिलहरूको अधिकार पनि कटौती गरिएको छ। राष्ट्रपति ट्रम्पमाथि अपुष्ट भ्रष्टाचारका दाबीबारे आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएको आरोप छ। ट्रम्पले आफूले गलत काम गरेको अस्वीकार गर्दै आएका छन्।