इस्लामिक स्टेट (आईएस) ले आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उत्तराधिकारी घोषणा गरेको छ। आईएसद्वारा सार्वजनिक एउटा अडिओ टेपमा अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएको बीबीसीले उल्लेख गरेको छ।
आईएसले सार्वजनिक गरेको उक्त अडियो टेपमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको पुष्टि गरेको छ। अमेरिकी विशेष फौजको कारबाहीमा अक्टोबर २७ तारिखमा बग्दादी सिरियामा मारिएको आईएसले पुष्टि गरेको हो।
आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन। उनको कुनै तस्बिर पनि सार्वजनिक गरेको छैन। तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ।
बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा चिनिएका थिए। सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो।