संयुक्त राष्ट्रसंघ चरम ‘आर्थिक संकट’ मा परेको छ। राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मितव्ययी बन्न पत्राचार गरेको छ।
महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघ हालसम्मकै सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको तथ्यसहित पत्राचार गरेका हुन्। राष्ट्रसंघ विश्वका एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था हो।
सदस्य राष्ट्रमध्ये १३४ राष्ट्रले मात्र पूर्ण शुल्क बुझाएका छन्। अमेरिकासहित ५९ राष्ट्रले शुल्क बुझाएका छैनन्। ती राष्ट्रलाई शुल्क बुझाउन ताकेता गरिएको राष्ट्रसंघका प्रवक्ता स्टेफन दुजारिकले बताए।
विभिन्न मुलुकले गरी राष्ट्रसंघलाई १.३ अर्ब ३० करोड अमेरिकी डलर तिर्न बाँकी छ। त्यसमध्ये अमेरिकाले १ अर्ब डलर तिर्नुपर्ने रोयर्टसले जनाएको छ। यसबाहेक अमेरिकाले निर्दिष्ट कार्यक्रम खर्च पनि ठूलै उपलब्ध गराउँदै आएको छ। अमेरिका, जापान, चीन, युरोपेली मुलुकले यस्ता खर्च बढी उपलब्ध गराउँदै आएका छन्।
राष्ट्रसंघमा बजेट अभाव परिरहने भए पनि यस्तो संकट पहिलोपटक खेप्नुपरेको अधिकारीहरूले बताए। ‘हामी आर्थिक अभावले गम्भीर मोडमा छौं,’ एक आवासीय प्रतिनिधिले भने, ‘महासचिवले नै राष्ट्रसंघ संकटमा परेको विषय पटकपटक बाहिर ल्याउनुभएको छ।’
२६ जुन १९४५ बडापत्र हस्ताक्षर भएको चार महिनामा अर्थात् २४ अक्टोबरमा स्थापना भएयता राष्ट्रसंघ पहिलोपटक यति ठूलो आर्थिक संकटमा परेको निष्कर्ष महासचिव गुटेरसको छ। संसारका सबैजसो मुलुक सदस्य भएको साझा संगठनले विश्वलाई शान्तिको दिशामा डोर्याउन सहयोगी भूमिका खेल्दै आएको छ। अन्नपूर्ण पाेस्टमा खबर छ।