साउदी अरबको मदिना सहरमा यात्रुवाहक बस र लोडर ठोक्किँदा ३५ विदेशीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएको नवभारत टाइम्सले उल्लेख गरेको छ । मदिना प्रहरीका प्रवक्ताले विदेशी पर्यटक सवार रिजर्भ बस र लोडर ठोक्किँएर दुर्घटना भएको पुष्टि गरेका छन् ।
दुर्घटनामा मृत्यु हुनेहरु अरब र एसियाली तीर्थयात्री रहेका बताइएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई अल हमना अस्पतालमा भर्ना गरिएको छ । प्रहरी अधिकारीले दुर्घटनाको अनुसनधान सुरु गरिएको जनाएका छन् ।
स्थानीय मिडियालाई उद्धृत गर्दै प्रहरी प्रवक्ताले मदिना क्षेत्रको अल अखल क्षेत्रमा बस कयौं सवारी साधनहरुसँग ठोक्किएको बताएका छन् । जसका कारण ३५ जनाको मृत्यु हुने गरी यो दुर्घटना भएको प्रहरीको भनाइ छ । तेलमाथिको आर्थिक निर्भर कम गर्न साउदी अरबले धार्मिक पर्यटन क्षेत्रलाई वर्षैभरि जारी राख्न चाहेको थियो ।
यो दुर्घटना सुनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले ट्विटमार्फत भनेका छन् कि, 'साउदी अरबको मक्का नजिकै भएको दुर्घटनाको खबरबाट दु:खी छु । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना प्रकट गर्दछु । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।'