जापानको होन्सु टापुमा आएको आँधी ‘हगिबीस’ ले सन् १९५८ मा जस्तै ध्वंस मच्चाउने चेतावनी विज्ञहरुले दिएका छन्। उक्त वर्ष कान्टो र इजु क्षेत्रमा आएको आँधीले १२०० भन्दा बढी मानिसको ज्यान लिएको थियो।
हगिबीस आँधीले हालसम्म १४ मानिसको मृत्यु भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन् । आँधीका कारण कयौं क्षेत्रमा मुसलधारे वर्षा र पहिरो पनि गएको छ। जापानका आपतकालीन निकायले मानिसहरुलाई बाढी र पहिरोबाट सतर्क रहन बारम्बार चेतावनीका सन्देशहरु दिएको छ। जापानी मौसम विज्ञान विभागले आँधी निकै शक्तिशाली रहेको र यो होन्सुबाट उत्तरी क्षेत्रतर्फ अगाडि बढिरहेको जनाएको छ।
जापान सरकारले बाढीबाट जुध्न आपत्कालीन बैठक बोलाएको छ भने दक्षिणी र पश्चिमी क्षेत्रका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ । दुईवटा ठूला एयरलाइन्स एनए र जेएएलले हनेदा र नारिता विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्ध गरेको छ।
यस्तै, ३ लाख ७० हजार घरमा विद्युत विच्छेद भएको छ भने कम्तीमा १५ हजार घरमा खानेपानीको लाइन अवरुद्ध भएको छ। आँधीका कारण कम्तीमा पनि १४ वटा नदीमा बाढी आएकाले बस्ती तथा शहर जलमग्न भएका छन् । टोकियोको उत्तरपश्चिममा रहेको चिकुमा नदीमा बाढी आउँदा नागानो शहर जलमग्न भएको छ। सन् २०११ को भूकम्प र सुनामीबाट तहसनहस भएको फुकुसिमा शहरमा पनि बाढीको पानीमा डुबेको छ। उद्दारका लागि २७ हजार उद्दारकर्मी परिचालन गरिएको छ।