पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चिनियाँ राष्ट्रपति सी जिनपिङले लिएको नीति अपनाउने बताएका छन् ।
उनले चीनका राष्ट्रपतिले भ्रष्टलाई जेल पठाए जस्तै आफूले पाकिस्तानमा ५ सय भ्रष्टलाई जेल पठाउन चाहेको बताएका छन् । चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेडमा सम्बोधन गर्दै प्रधानमन्त्री खानले आफूले चीनबाट भ्रष्टाचार कसरी अन्त्य गर्ने भन्नेबारे सिकेको पनि बताए ।
चीनको दुईदिने भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री खानले सीलाई भ्रष्टाचारविरुद्ध सख्त कदम चाल्ने राष्ट्रपतिका रुपमा बुझेको बताए । पछिल्ला ५ वर्षमा ४ सय मन्त्री स्तरका व्यक्तिलाई जेल हालेको आफूले पाएको खानको भनाइ थियो ।
खान हिजो (मंगलबार) बेइजिङ पुगेका हुन् । उनले भ्रमणका क्रममा चिनियाँ अधिकारीहरुसँग काश्मीर सुरक्षाको मामिलामा कुरा गर्ने पाकिस्तानी सञ्चार माध्यमले उल्लेख गरेका छन् । खानको साथमा पाकिस्तानी प्रधानसेनापति पनि चीन भ्रमणमा छन् । उता चिनियाँ राष्ट्रपति सीको भारत र नेपालको भ्रमणको पूर्वसन्ध्यामा पाकिस्तानका प्रधानमन्त्रीको बेइजिङ भ्रमणलाई भारतीय सञ्चारमाध्यमले भने अर्थपूर्ण रुपमा लिएका छन् । -एजेन्सीहरुको सहयोगमा