चिनियाँ राष्ट्रपति सी जिनपिङ शुक्रबार दुईदिने भारत भ्रमणका लागि आउँदै छन् । यसैबीच पाकिस्तानी प्रधानमन्त्री इमरान खान आजै (सोमबार) तीनदिने भ्रमणका लागि जाँदै छन् ।
पाकिस्तानी प्रधानमन्त्री खान चिनियाँ राष्ट्रपति सी तथा प्रधानमन्त्री ली खछ्याङ सँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको रेडियो पाकिस्तानलाई उद्धृत गर्दै बीबीसीले समाचारमा जनाएको छ । इमरानले अर्बौं डलर लगानीको चाइना-पाकिस्तान इकनोमिक करिडोर परियोजनाका विषयमा समेत कुरा गर्नेछन् ।
काश्मीरमा धारा ३७० निष्प्रभावी भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरानको यो पहिलो चीन भ्रमण हो । भारतको यो कदमप्रति पाकिस्तानसँगै चीनलेसमेत विरोध जनाएको थियो । यसअघि पाकिस्तानी विदेशमन्त्री शाह महमुद क़ुरैसी चीन भ्रमणमा गएका थिए । त्यस अवसरमा चीनले काश्मीरको यथास्थितिलाई भारतले चलाउनुहुँदैनथियो ।
अर्कोतर्फ चिनियाँ राष्ट्रपति सी शुक्रबार दिउँसो साढे १ बजे भारतीय सहर चेन्नई पुग्ने बीबीसीले जनाएको छ । भ्रमणको दोस्रो दिन यहाँबाट राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथमा महाबलीपुरम जानेछन् र केही सांस्कृतिक कार्यक्रममा सहभागी हुनेछन् ।