तिहाड जेलमा रहेका भारतीय कंग्रेस नेता तथा पूर्ववित्त तथा गृहमन्त्री पी. चिदम्बरमलाई भेट्न कंग्रेस अध्यक्ष सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंह पुगेका छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोनिया र मनमोहनलाई भेटेपछि चिदम्बरमले वर्तमान नरेन्द्र मोदी सरकारको तीव्र आलोचना गरेका छन्। उनी आईएनएक्स मिडिया घटनामा जेल परेका हुन्। कंग्रेसकी अन्तरिम अध्यक्ष सोनिया र पूर्वप्रधानमन्त्री मनमोहनसँग भेटपछि चिदम्बरमले परिवारमार्फत आफ्नो ट्विटर ह्यान्डलमै मोदी सरकारको विरोध गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
‘म आज सम्मानको अनुभूति गरिरहेको छु, मलाई सोनिया गान्धी र मनमोहन सिंहजी भेट्न आउनुभयो। जबसम्म कंग्रेस पार्टी मजबुत र साहसी छ तबसम्म म पनि मजबुत र साहसी हुनेछु,’ चिदम्बरमले ट्विटमा भनेका छन्, ‘बेरोजगारी, कम तलब, भीड हिंसा, कश्मीरमा तालाबन्दी, तथा बाँकी रहेको रोजगारी अन्त्य र विपक्षी नेताहरुलाई जेलमा कोच्नेबाहेक भारतमा सबथोक राम्रो छ।’
तिहाड जेलमा रहेका चिदम्बरमलाई भेट्न सोनिया र मनमोहन पहिलोपटक पुगेका हुन्। केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले चिदम्बरमलाई २१ अगस्तमा गिरफ्तार गरेपछि दिल्लीको एक कोर्टले उनलाई न्यायिक हिरासतमा पठाएको थियो। -एजेन्सीको सहयोगमा
भिडियो सौजन्य इन्डिया टुडे ।