प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीलाई कैयौं वैश्विक अवार्ड (पुरस्कार) प्राप्त भइसकेको छ। अहिले उनले पाउने भनेको एउटा अवार्डका विषयमा निकै विवाद उत्पन्न भएको बीबीसीले उल्लेख गरेको छ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले भारतीय प्रधानमन्त्री मोदीलाई 'ग्लोबल गोलकिपर अवार्ड' प्रदान गर्ने घोषणा गरेको छ। तर यो घोषणापछि प्रख्यात कानुन व्यवसायी (वकिल), मानवाधिकार कार्यकर्ता तथा समाजसेवीहरुले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको कडा आलोचना गरेका छन्।
फाउन्डेसनले २४ सेप्टेम्बरमा चौथो वार्षिक गोलकिपर्स ग्लोबल गोल्स अवार्डका अवसरमा मोदीलाई सम्मानित गर्नेछ। यो अवार्ड मोदीको स्वच्छ भारत अभियानलाई सम्मान स्वरुप दिइएको हो।
यो अभियानकै कारण देशभर लाखौं शौचालय निर्माण गरिएसँगै स्वच्छताप्रति सर्वसाधारणमा व्यापक जागरुकता आएको सरकारको दाबी छ। यद्यपि मोदीलाई अवार्ड दिने घोषणासँगै गेट्स फाउन्डेसनको आलोचना भइरहेको बीबीसीले समाचारमा उल्लेख गरेको छ।
१९७६ को नोबेल शान्ति पुरस्कार विजेता मेरिड मैग्वेइरले गेट्स फाउन्डेसनलाई लेखेको पत्रमा उल्लेख गरेका छन्, कि- 'मलाई यो सुनेर अचम्म लागेको छ। बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले यही महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पुरस्कार दिँदैछ। मोदी सरकारले भारत खतरनाक तथा घातक अवस्थातर्फ अघि बढिरहेको छ। जसकारण मानवाधिकार तथा लोकतन्त्र लगातार कमजोर भएका छन्। यसले मलाई विशेष तवरले सताएको छ कि तपाईंको फाउन्डेसनको घोषित लक्ष्य भनेको जीवनलाई संरक्षित गर्ने र असमानताको विरुद्ध लड्ने हो।'
पत्रमा उनले भारतका अल्पसंख्यक (खास गरी मुसलमान, इसाइ तथा दलित) माथिको आक्रमण, असम तथा काश्मीरमा मानवअधिकारको उल्लंघनका बारेमा जानकारी हुँदा हुँदै पनि फाउन्डेसनले प्रधानमन्त्री मोदीलाई पुरस्कार दिने विषयमा पुनर्विचार गर्न आग्रह गरिएको छ ।
यो सम्मान (पुरस्कार) को घोषणा समयलाई लिएर पनि आलोचना भइरहेको छ। यो समयमा असम र जम्मु-काश्मीरमा मोदी सरकारले गरेको विवादित फैसला जसको अहिले सर्वत्र आलोचना भइरहेको छ। जम्मु-काश्मीरमा ५ अगस्तपछिको अवस्था अझै सामान्य हुन सकेको छैन। काश्मीरमा कैयौं अत्यावश्यक सेवाहरु अझै प्रतिबन्धित अवस्थामा छन्। काश्मीरमा भारत सरकारमाथि मानवाधिका उल्लंघनको गम्भीर आरोप लागिरहेको छ। मोदीलाई प्रदान गर्न लागिएको यो अवार्ड (पुरस्कार) उनले विश्वभरबाट प्राप्त पुरस्कारहरुभन्दा नयाँ (फरक) हो।
के भन्छन् बिल गेट्स ?
बिल गेट्सले भारतीय अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुरस्कार दिन लागेको जनाएका छन्।
उनले भने, 'स्वच्छ भारत अभियानअघि ५० करोड भारतीयभन्दा धेरै जनतासँग शौचालय थिएन। अब भने उनीहरुमध्ये अधिकांशको शौचालय छ। अझै लामो याता तय गर्नै बाँकी छ। तर, भारतमा मोदीको स्वच्छता अभियानको प्रभाव मज्जैले देखिइरहेको छ ।'
'स्वच्छ भारत अभियान संसारभर अन्य मुलुकका लागि पनि एक उदाहरणका रुपमा लिन सकिन्छ। जसले संसारभरका गरिब जनताको स्वास्थ्य तथा स्वच्छतामा तत्काल सुधारको आवश्यकता छ,' फाउन्डेसनले भनेको छ।