अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्टि गरेका छन्।
ह्वाइटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन्, ‘अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तान/पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन्।’
गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए। अमेरिकी अधिकारीहरुले नै हम्जा मारिएकाे बताएका थिए तर कहाँ र कहिले उनी मारिए भन्ने कुरा भने खुलाइएको थिएन।
अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो। हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो। लगभग ३० वर्ष उमेर अनुमान गरिएका हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए। उनले आफ्जा बाबु मारिएकाेमा अमेरिकासँग बदला लिने याेजना बनाइरहेकाे खुलेकाे थियाे।
त्यसपछि गत फेब्रुअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई १ मिलियन डलर उपहारको घोषणा गरेको थियो। हम्जाले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए। साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको कुरा बाहिर आएकाे थियाे।
हम्जका बाबु बिन लादेनलाई अमेरिकाकाे विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानकाे एबाेट्टावादमा हत्या गरेको थियो। सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले बताएको थियो।