भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भुटानमा सम्बोधन गर्दै भारतलाई गौतम बुद्धको देश भनी चिनाएका छन्। २ दिने भुटान भ्रमणको दोस्रो दिन आइतबार त्यहाँको शाही विश्वविद्यालयका विद्यार्थीलाई सम्बोधन गर्दै मोदीले, ‘भारतीय धर्तीमै राजकुमार सिद्धार्थ बुद्ध बने, जहाँबाट बौद्ध धर्मको ज्योति पूरै संसारमा फैलियो।’
उनले भिक्षु र आध्यात्मिक गुरुले भुटानलाई अगाडि बढाएको पनि बताए ।
भुटानको विकासका लागि भारत र आफू सँधै तयार रहेको उल्लेख गर्दै उनले दुवै देशका धेरै रितिरिवाज पनि मिल्ने भएकाले मिलेर सधैं काम गर्न तयार रहेको बताए ।
मोदीले सम्बोधनका क्रममा भारत तीब्रगतिमा गरीबी हटाउ अभियानमा रहेको बताउँदै पूर्वाधार निर्माणमा आफूले जोड दिएको बताए । यसैगरी विश्वको सबैभन्दा ठूलो स्वास्थ्यसेवा कार्यक्रम ‘आयुष्मान भारत’ सञ्चालन गरेको भन्दै सबै भन्दा इन्टरनेट डेटा कनेक्सन भएको देश पनि बनेको उल्लेख गरे ।
२ दिने भुटान भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले हाइड्रो पावर प्रोजेक्ट, नलेज नेटवर्क, मल्टी स्पेसियालिटी हस्पिटल, स्पेस स्याटेलाइटलगायतका ९वटा सम्झौतामा हस्ताक्षर भएको थियो । उनले भुटानका प्रधानमन्त्री डा लोटे छिरिङसँग पनि छलफल गरेका थिए ।