सिक्किममा लगातार २५ वर्षसम्म शासन गरेर भारतमै सबैभन्दा लामो समय शासन गर्ने रेकर्ड कायम गरेको पवन चाम्लिङ नेतृत्वको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) राज्यमा तेस्रो पार्टीमा सीमित भएको छ। उक्त पार्टीका १० सांसद एकाएक भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेपछि एसडीएफको बिचल्ली भएको हो।
नयाँदिल्लीमा भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र महासचिव राम माधवको उपस्थितिमा ती सांसदहरु भाजपा प्रवेश गरेका हुन् । भारतमा कुनै पनि पार्टीका दुई तिहाई सांसदहरु अर्को पार्टीमा प्रवेश गर्नु कानुनी मानिन्छ ।
हालै भएको निर्वाचनमा एसडीएफले ३२ विधानसभा सिटमध्ये १५ सिटमा चुनावमा जितेको थियो भने १७ सिट जितेर सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)ले सरकार बनाएको थियो। एसडीएफका २ सांसदले २–२ स्थानबाट चुनाव जितेका थिए, जसमध्ये दुवैले एक–एक स्थान छाडेका थिए। यस हिसाबले अब सिक्कीम विधानसभामा एसडीएफका ३ सांसदमात्र छन् ।
पूरै भारतभर सिक्किममात्र यस्तो राज्य थियो, जहाँ भाजपाको उपस्थिति थिएन। अब यहाँ भाजपा प्रमुख प्रतिपक्षी बनेको छ भने चामलिङको एसडीएफ तेस्रो स्थानमा सीमित भएको छ। अब एसडीएफले छाडेका २ सिट खाली छन्।
अहिले सत्ताधारी एसकेएम भाजपा नेतृत्वको उत्तरपूर्वी प्रजातान्त्रिक गठबन्धन (एनडीए) को साझेदार हो।