भारतको मुम्बईस्थित डोंगरी भन्ने ठाउँमा एउटा चारतले भवन भत्किएको छ । भवन भत्किँदा २ जनाको मृत्यु भएको छ । यस्तै ४० जनाभन्दा बढी भत्किएको भवनभित्रै पुरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
इन्डियन एक्सप्रेस र नवभारत टाइम्सका अनुसार उद्धारकर्मीहरुले अहिलेसम्म २ जनाको शव बाहिर निकालिसकिएको छ । यस्तै ५ जनालाई जिवितै उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । ३०-४० जना जति भत्किएको भवनभित्रै हुन सक्ने नवभारत टाइम्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
भत्किएको भवनभित्रका मानिसहरुलाई निकाल्नका लागि ठूलो मात्रामा उद्धारकर्मीहरु परिचालन भएको बीबीसीले उल्लेख गरेको छ । भारतीय समयअनुसार मंगलबार बिहान ११ बजेर ४० मिनेटमा उक्त चारतले भवन भत्किएको हो ।
मुसलधारे वर्षाकै कारण भवन भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थलमा दमकल विभागको टिमसमेत परिचालन भएको र राहतमा जुटेको बीबीसीले समाचारमा जनाएको छ । दमकल विभागका प्रमुख अग्नि नियन्त्रक अधिकारी प्रभात रहांगद भने, 'यो चारतले भवन थियो । राहत तथा उद्धार अझै भइरहेको छ । सर्वसाधारण भवनभित्रै च्यापिएका छन् । जेसीबी तथा नगर निगमका मजदुरको पनि सहयोग लिइरहेका छौं । राष्ट्रिय आपत राहत बल (एनडीआरएफ) लाई पनि बोलाइएको छ ।'
बीबीसीका अनुसार दुई दिनअघि मात्र हिमाचल प्रदेशको सोलन जिल्लामा भारी वर्षाका कारण आइतबार एक बहुतले घर भत्किएको थियो । यो घटनामा कैयौं भारतीय सैनिकको मृत्यु भएको थियो ।