भारतको राजस्थानको बाडमेरमा आएको आँधीबाट धार्मिक कार्यमा संलग्न कम्तिमा १४ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु राम कथा सुन्ने एक धार्मिक कार्यक्रममा भाग लिइरहेका थिए । सोही कामका लागि त्यहाँ लगाइएको पण्डाल हुरीका कारण खस्दा मानिसहरुको मृत्यु भएको हो । घाइते केहीको अवस्था नाजुक रहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रहरीले जनाएअनुसार जसोल गाउँको धाममा कथा सुनाउनका लागि ठूलो पण्डाल लगाइएको थियो । आइतबार अपराह्न आएको आँधी र वर्षाले पण्डालको केही भाग खसेको थियो । यसबाट त्यहाँ भागदौड मच्चिएको थियो । त्यतिबेला त्यहाँ करिब सय सर्वसाधारण थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई ५ लाख र घाइतेका परिवारलाई २ लाख रुपियाँ दिने घोषणा गरेका छन् ।