भारतको राजधानी नयाँदिल्लीको मयूर विहार आसपास धर्मशीला क्यान्सर अस्पतालको रेड लाइट छेउमा एक पत्रकार महिलामाथि गएराति १२:३० बजे गोली प्रहार भएको छ । क्राइम रिपोर्टर मिताली चन्दोलाको बायाँ हातमा गोली लागेको छ ।
प्रहरीले उनलाई नजिकैको धर्मशीला अस्पतालमा उपचारका लागि लगेको थियो । उनको अवस्था अहिले खतरामुक्त रहेको अमर उजालाले जनाएको छ । गाडी अगाडिको सिसामा गोली हानिएको र ड्राइभरतर्फको सिटमा अन्डासमेत फालिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा यो घटना व्यक्तिगत रिसइबीका कारण हुनसक्ने अनुमान गरिएको छ । हमलाको पछाडि पारिवारिक विवाद हो वा लुटपाटको उद्देश्य हो भन्नेबारे अनुसन्धानपछि मात्रै निष्कर्ष निस्कने प्रहरीले जनाएको छ ।
केहीअघि पनि दक्षिणी दिल्लीको बारापुला फ्लाइओभरमा एक टिभी च्यान टिमका रात्रिसेवाका कर्मचारीको कोठामा पनि लुटपाट र फाइरिङ भएको थियो ।