अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका तानाशाह किम जोन उनले पठाएको पत्र आफूले पाएको प्रष्ट पारेका छन्।
उनले पत्रको जवाफमा उत्तर कोरियासँग वार्ता जारी राख्ने इच्छा व्यक्त पनि गरे। तर ट्रम्पले १ महिनाअघि उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि आक्रोश व्यक्त गर्दै वार्ताका लागि अस्वीकार गरेका थिए।
गत महिना उत्तर कोरियाले लामो दूरीमा मार हान्न सक्ने मिसाईल परीक्षण गरेको थियो। त्यतिबेला किमको उपस्थिति थियो। त्यसको दक्षिण कोरिया र अमेरिकाले पनि पुष्टि गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका तानाशाह उनबीच अहिलेसम्म दुई पटक वार्ता भइसकेको छ। चाँडै तेस्रो वार्ता हुन सक्ने आंकलन गरिएको छ।
ह्वाइटहाउसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने ‘चाँडै तेस्रो चरणको वार्ता हुन सक्छ तर त्यसका लागि पहिला माहोल ठीक हुनुपर्छ।’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पनि दुई नेताकाबीचमा वार्ता हुनु पर्ने पक्षमा छन्।