साउदी अरबले इरानी आदेशमा यमनका हुथी विद्रोहीहरुले आफ्नो प्रतिष्ठित तेल पाइपलाइनमा आक्रमण गरेको टिप्पणी गरेको छ । गत मंगलबार भएको उक्त आक्रमणमा यमनका हुथी विद्रोहीहरुको हात रहेको अनुमान गरिएको थियो । तर साउदीले उक्त आक्रमणमा इरानकै हात रहेको भन्दै इरानले उक्साए आफूहरु युद्धका लागि तयार रहेको जनाएको छ । उक्त विद्रोही समूह इरानसमर्थक मानिन्छ ।
२ दिनअघि पनि साउदी अरबको तटमा रहेको २ तेल ट्यांक र चार जहाजमा पनि आक्रमण भएको थियो । इरान र अमेरिकाबीच भएको परमाणु सन्धीबाट पछाडि हटेपछि मध्यपूर्वमा अमेरिकी सेना तैनाथ गरिएको छ। यसबाट मध्यपूर्वमा तनाव बढेको छ ।
साउदी अरबका विदेशमन्त्री अदेल अल जुबेरले एक पत्रकार सम्मेलनमा आफ्नो मुलुक मध्यपूर्वमा कुनै पनि खालको संघर्ष नचाहने बताए । ‘हामी कुनै पनि प्रकारको युद्धको सम्भावनाबाट बँच्नका लागि हरसम्भव कोशिश गर्न तयार छौं, यदि अर्को पक्ष (इरान) ले युद्धका लागि उक्साउछ भने हामी त्यसको भरपूर जवाफ दिन तयार छौं,’ उनले भने ।
साउदी अरबका राजा सलमानले खाडी तथा अरब मुलुकका नेताहरुलाई आगामी ३० मेमा मक्कामा हुने आपत्कालिन बैठकका लागि निम्तो दिएका छन् । त्यसमा यो आक्रमणबारे पनि छलफल हुने बताइएको छ ।