अमेरिकाको अल्बामा राज्यको सिनेटले गर्भपतनमा प्रतिबन्ध लगाउनेसम्बन्धी कानुन पारित गरेको छ । पारितपछि यो कानुन गभर्नर केभी इभीसमक्ष पुगेको छ । उनले कानुन सदर गर्ने या नगर्ने भन्ने स्पष्ट भइसकेको छैन ।
गर्भपतनलाई प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकको पक्षमा २५ मत परेको थियो भने विपक्षमा ६ मतमात्र परेको थियो । यो विधेयकलाई यसै महिनाको सुरुमा अल्बामाको हाउस अफ रिप्रिजेन्टेटिभ्सले पारित गरेको थियो ।
योसहित गर्भपतनलाई प्रतिबन्ध लगाउने अमेरिकी राज्य १६ पुगेका छन् । अधिकारवादीले भने अल्बामाको नयाँ कानुनले सन् १९७३ को सर्वोच्चको फैसलालाई चुनौति दिने उल्लेख गरेका छन् । उक्त वर्ष सर्वोच्चले गर्भपतनलाई कानुनी मान्यता प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रिय महिला संगठनले पनि प्रतिबन्ध असंवैधानिक रहेको टिप्पणी गरेको छ ।