अब घरमै बसेर पनि स्नातकोत्तर अध्ययन गर्न सकिने भएको छ । यसका लागि खुला विश्वविद्यालयले विभिन्न विषयमा भर्नाका लागि आवेदन माग गरेको छ ।
भर्ना हुन चाहने विद्यार्थीले तल उल्लेखित मितिसम्ममा www.nou.edu.np मा अनलाइन आवेदन फाराम भरी बुझाउनुपर्ने छ ।
नेपालमा पहिलोपटक खुलेको खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । पैसा र समय भएर पनि नियमित कलेज वा विश्वविद्यालयको कक्षा जान नसक्ने र वर्षौंदेखि पढाइ छुटेका विद्यार्थी लक्षित गरी यसै वर्षदेखि सुरु गरिएको खुला विश्वबिद्यालयमा विद्यार्थीहरुले अनलाइनमार्फत पढ्न सक्नेछन् । नयाँ विषय र घरमै बसेर पढ्न सकिने भएकाले पनि यस विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढेको हो ।
सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन, विज्ञान, स्वास्थ्य र प्रविधि संकायमा पढाइ हुने विश्वविद्यालयमा अहिले ५ विषयमा पठनपाठन थालिएको छ ।
विश्वविद्यालयले डेढ वर्षे पाठ्यक्रमअन्तर्गत सामाजिक विज्ञान र सूचना प्रविधिमा एमफिल, एकवर्षीय पाठ्यक्रमअन्तर्गत दूर तथा ‘ई-लर्निङ’मा पोस्ट ग्य्राजुयट तथा पुस्तकालय र सूचनामा डिप्लोमा एवं दुईवर्षीय स्नातकोत्तर तहको ई-गभर्नेन्स विषयमा पढाइ सञ्चालन गरेको छ ।
मान्यता कति छ ?
यस विश्वविद्यालयमा पढाइ हुने कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयको प्रज्ञा प्रतिष्ठान तथा सिनेटबाट स्वीकृत प्राप्त भएकाले यसको मान्यतामा शंका गर्नु पर्दैन ।
परीक्षा कसरी लिइन्छ ?
पढाइ घरमै बसेर हुने भए पनि परीक्षा भने विश्वबिद्यालयले तोकेको स्थानमै गएर दिनुपर्ने हुन्छ । हाल विश्वविद्यालयले राखेको ७ सहायता केन्द्रमा गई परीक्षा दिन सकिन्छ ।
पढ्न मन लागे के गर्ने ?
यस विश्वविद्यालयमा पढाइ हुने विषयको जानकारी विश्वविद्यालयको आफ्नै वेबसाइटमा हेर्न सकिन्छ । आफूलाई पढ्न मन लागेको विषयको भर्ना मापदण्ड हेरी प्रवेश परीक्षा दिनुपर्ने हुन्छ । प्रवेश परीक्षामा ल्याएको अंक र बरियताअनुसार भर्ना गर्नुपर्छ ।
परीक्षा शुल्क अनलाइनबाटै
प्रविधिको अधिकतम प्रयोग गर्दै यस विश्वविद्यालयको भर्ना, परीक्षालगायत शुल्क समेत अनलाइनबाटै तिर्न सकिनेछ । शुल्क भने सरकारी विद्यालय हाराहारीकै पर्छ ।
प्रवेश परीक्षा मिति : २०७६ जेठ ११ गते
परीक्षा केन्द्र : इटहरी, सुर्खेत, ललितपुर, पोखरा र धनगढी
विस्तृत जानकारीका लागि क्लिक गर्नुहोस् ।