परीक्षाअघि नै प्रश्नपत्र आउट भएपछि स्थगित गरिएको प्रदेश नम्बर २ को एसईई शुक्रबारदेखि सुरु भएको छ। शुक्रबार बिज्ञान विषयको परीक्षा भएको हो।
परीक्षामा मोबाइलको प्रयोग गरेको भन्दै धनुषामा तीनजना परिक्षार्थीलाई निष्काशन गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख बरखुप्रसाद रजकले जानकारी दिए। सबैला नगरपालिका स्थित फकिरचन्द माविबाट दुईजना र जनकपुरधाम उपमहानगरपालिका स्थित मावि कुवारामपुरबाट एकजना स्पेल्ट भएका हुन्।
परीक्षा हलभित्र मोबाइलमा प्रश्नपत्रको फोटो खिचेको पाइएपछि उनीहरुलाई स्पेल्ट गरिएको हो। परीक्षा मर्यादित बनाउन र अबाञ्छित गतिविधि रोक्न केन्द्राध्यक्ष बाहेक परीक्षामा खट्ने परीक्षा निरीक्षक, सुरक्षाकर्मी, कर्मचारी, विद्यार्थी लगायतका सबै सहयोगीलाई मोवाइल राख्न निषेध गरिएको छ।
परीक्षाको पूर्व सन्ध्यामा बिहीबार बसेको प्रदेश २ माध्यमिक शिक्षा परीक्षा सञ्चालन समन्वय समितिको बैठकले परीक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाईल प्रयोग निषेधको साथै सम्पूर्ण विद्यार्थीलाई परीक्षा केन्द्रमा प्रवेश गर्ने बेला अनिवार्य खानतलासी गर्न निर्देशन दिइएको थियो। यस्तै, परीक्षा मर्यादित बनाउन नसकेको भन्दै तीनजना परीक्षा निरीक्षक पनि निस्कासित गरिएको छ। फकिरचन्द मावि बरकुरबाबाट दुईजना र ठेरा कचुरी केन्द्रबाट एकजना गार्ड निस्कासित भएका हुन्।