पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ। उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ।
कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज (जिपिए) २.० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन्। विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो। सी ग्रेड भनेको २.० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ। यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए।
तर, विश्वविद्यालयले परीक्षाको मुखमा आएर प्रत्येक विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने अर्थ लगाएपछि समस्या निम्तिएको छ। विश्वविद्यालयले प्रत्येक विषयमा सी ल्याएको हुनुपर्ने भन्दै माघमा अर्को सूचना निकालेको थियो। त्यसपछि विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको विवादले शुक्रबारदेखि हुने भनिएको परीक्षा नै स्थगित भएको छ। योसँगै पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ क्याम्पसका बिबिए, बिबिएबिआई, बिसिए, बिसिआइएस, बिएचएम अध्ययन गरेका विद्यार्थी अलपत्र परेका छन्।
यस्तो थियो भर्नाका वेला विश्वविद्यालयले निकालेको सूचना
विश्वविद्यालयले भर्नाको समयमा सार्वजनिक गरेको सूचनालाई नै अहिले विभिन्न किसिमले व्याख्या गरिएको छ। विज्ञान प्रविधि, स्वास्थ्य विज्ञानजस्ता संकायमा भर्नाका लागि कक्षा ११ र १२ मा हरेक विषयमा कुन ग्रेड हुनुपर्ने भन्ने उल्लेख गरेको छ। तर, व्यवस्थापन संकायमा भर्नाका लागि विषयअनुसारको ग्रेड खुलाएको छैन। व्यवस्थापन संकायमा न्यूनतम मापदण्डमा अक्षरांकन पद्धतिअनुसार फाइनल ग्रेडमा सी हुनुपर्ने उल्लेख छ। सबै विषयमा सी हुनुपर्ने उल्लेख छैन। तर, अहिले विश्वविद्यालयले सबै विषयमा न्युनतम् ग्रेड सी हुने विद्यार्थीको मात्र आवेदन स्वीकार गरेको छ। सोही सूचनामै ब्याचलर अफ फार्मेसी अध्ययनका लागि न्यूनतम मापदण्डमा समग्रमा जिपिए २.४ र फिजिक्स, केमेस्ट्री र बायोलोजी/म्याथ विषयमा सी प्लस ल्याउनुपर्ने र अन्य विषयमा सी ग्रेड ल्याउनुपर्ने उल्लेख गरेको छ। नयाँ पत्रिका दैिनकमा खबर छ।