भदौदेखि नै विद्युत उत्पादन गर्ने तयारी गरेको रूदीखोला ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन अवधि लम्बिने भएको छ। नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मुङ्गेबेसी सब-स्टेसन तयार नहुँदा लमजुङमा निर्माणाधीन ८.८ मेगावाटको रूदीखोला ‘ए’ जलविद्युत आयोजनाको उत्पादन अवधि फेरि लम्बिएको हो।
बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको उक्त आयोजनाबाट गत भदौदेखि उत्पादन सुरू गर्ने तालिका भएपनि सब–स्टेसन समयमै सञ्चालनमा आउन नसक्दा उत्पादन अवधि फेरि धकेलिएको आयोजनाका उप–प्रबन्धक सरोज भट्टराईले बताए। ‘सब–स्टेसनको काममै स्थानीयको अवरोध छ,’उनले भने,‘कास्कीको ठूली पोखरीमा स्थानीय अवरोधका कारण ३३ केभी लाइनको पोल ठड्याउने काम नै रोकियो। हामी विवाद समाधान गर्न लागिरहेका छौं।’ भट्टराईका अनुसार ठूलो पोखरीका स्थानीयले सो रूटमा विविध माग राखेर १० वटा पोल ठड्याउन अवरोध गरेपछि सब–स्टेसन निर्माण कार्य प्रभावित भएको हो।
स्थानीयको अवरोधलाई समाधान गरी सब–स्टेसन र लाइन तयार गर्ने कामलाई तत्काल अघि बढाउन सके असोज अन्तिम साताबाटै विद्युत उत्पादन सुरू गर्न सकिने आयोजनाका ओभरसियर कृष्णप्रसाद पण्डितले जानकारी दिए। पण्डितका अनुसार दसैंअघिबाट उत्पादन सुरू गर्ने गरी अहिले आयोजनामा गेट तथा भल्भ जडानको काम भने अघि बढिरहेको छ।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको मादीस्थित मुुङ्ग्रेबेसी सब–स्टेसनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोडिनेछ। विद्युतगृहबाट सब–स्टेसनसम्म आवश्यक ४ किलोमिटर ३३ केभी डबल सर्किट लाइन कम्पनीले निर्माण गरिसकेको छ। बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रो मेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिक्समा टीपीएस इन्डिया प्रालिले काम गरेका छन्।
लमजुङको पसगाउँस्थित सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमिटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेसीस्थित विद्युतगृहबाट विद्युत उत्पादन गरिने छ। सो आयोजनामा रूदीसहित छेदुवा खोलाको पानीसमेत मिसाइने छ। तीन सय मिटर ग्रेस हेड रहेको यो आयोजनाबाट उत्पादित विद्युत कास्कीको मुग्रेबेसीस्थित ३३ केभीएको ट्रान्समिसन लाइनमा जडान गरिनेछ।
२०७३ साल जेठबाट सिभिल संरचना निर्माणको काम सुरू भएको आयोजना साढे २ वर्षमा पूरा भएको हो। १ अर्ब ३६ करोड रूपैयाँ बराबरको अनुमानित लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा सानिमा बैंकको अगुवाईमा पाँचवटा बैँकको लगानी छ। आयोजनामा ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत स्वपूँजी लगानी छ।
२०६९ माघ २८ मा विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भएको आयोजनाको हिउँदमा ८.४० पैसा र वर्षामा ४.८० रूपैयाँ दररेट रहेको छ। बिन्दवासिनीले रूदीखोला ‘ए’ सँगै रूदीखोला ‘बी’ को पनि निर्माण गरिरहेको छ।